राजनीतिक स्थिरताका लागि कांग्रेस र एमालेको सरकार : सञ्चारमन्त्री गुरुङ
एमालेका उपमहासचिव रहेका गुरुङले पार्टी कार्यालय तनहुँमा भएका भेटघाटमा देशलाई सङ्कट परेका बेला दुई ठूला दल सधैँ मिल्दै आएको बताए।तनहुँ, कात्तिक २४ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक स्थिरता र आर्थिक अनुशासनका लागि कांग्रेस र एमालेबीच सरकार गठनमा सहमति बनेको बताएका छन्।
एमालेका उपमहासचिव रहेका गुरुङले पार्टी कार्यालय तनहुँमा भएका भेटघाटमा देशलाई सङ्कट परेका बेला दुई ठूला दल सधैँ मिल्दै आएको बताए।
राजनीतिलाई स्थायीत्व दिँदै जनतामा रहेको निराशा चीर्नका लागि दुई पार्टी मिलेर सरकार सञ्चालन गरेको उनले बताए। उने भने, 'वर्षैपिच्छे सरकार परिवर्तन हुँदा जनतामा एकखालको निराशा छाएको थियो। दुई ठूला पार्टी मिलेर देशलाई स्थिरतातर्फ लैजाने प्रयास गरेका हौं।'
दुई ठूला पार्टीको सरकार बन्दै चमत्कारका काम नभए पनि अर्थतन्त्रमा देखिएका समस्या बिस्तारै समाधान हुँदै गएको उनको दाबी थियो। उनले भने, 'जहाँजहाँ समस्या थियो, त्यस क्षेत्रमा समाधानका प्रयास भएका छन्। सरकार ठीक ढंगले लयमा अगाडी बढेको छ।'
जनअपेक्षा अनुसारका काम गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए। सरकार सञ्चालनमा एकसाथ तर चुनावमा प्रतिस्पर्धा गर्नेगरी अगाडि बढिएको मन्त्री गुरुङको भनाइ थियो ।