यू-१९ एसिया कपका लागि नेपाली टिमको घोषणा
नेपाल क्रिकेट संघ (क्याय)ले फास्ट बलर हेमन्त धामीको कप्तानीमा शनिबार दिउँसो १८ सदस्यीय टिम घोषणा गरेको हो।काठकाडाैं, कात्तिक २३ : एसिसी यू-१९ एसिया कप क्रिकेटका लागि नेपाली टिमको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्याय)ले फास्ट बलर हेमन्त धामीको कप्तानीमा शनिबार दिउँसो १८ सदस्यीय टिम घोषणा गरेको हो।
युएईमा हुने प्रतियोगिताका लागि घोषणा गरिएको टिममा उपकप्तानको जिम्मेवारी ओपनर अर्जुन कुमालले पाएका छन्। उपकप्तान कुमालले यू१९ विश्वकप खेलेका थिए भने कप्तान हेमन्तले चोटका कारण विश्वकप गुमाएका थिए। उनले सिनियर टिममा भने डेब्यू गरिसकेका छन्।
टिममा विश्वकप खेलेका आकाश त्रिपाठी र उत्तम थापामगर पनि छन्। टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी पूर्वराष्ट्रिय क्रिकेटर शक्ति गौचनले पाएका छन् भने दीपेन्द्र चन्द सहाकय प्रशिक्षक छन्।
टिममा १४ खेलाडी मात्र हुने भएपनि क्यानले रिजर्भसहित १८ खेलाडी टिममा राखेको छ। केही दिनको बन्द प्रशिक्षणपछि १४ खेलाडी घोषणा गरिने क्यानले जनाएको छ।
प्रतियोगिता नोभेम्बर १९ देखि डिसेम्बर ८ सम्म युइईमा आयोजना हुनेछ। प्रतियोगितामा नेपाल समूह बीमा छ। यो समूहमा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन्। यस्तै, समूह एमा भारत, पाकिस्तान, जापान र युएई छन्।
नेपालले पहिलो खेल नोभेम्बर २९ मा श्रीलंकासँग खेल्नेछ। यस्तै, दोस्रो खेल डिसेम्बर १मा बंगलादेश र अन्तिम खेल डिसेम्बर ३ मा अफगानिस्तानसँग खेल्नेछ।
नेपाली टिम ः हेमन्त धामी (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम थापामगर, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अविशेक तिवारी, दिलशद अली, रन्जित कुमार ।