‘प्रधानमन्त्रीको चीन भ्रमणका लागि दुई दलीय संयन्त्र बनेको छैन’
दुई दलबीच निरन्तर संवाद र सहकार्य भइरहने वातावरण निर्माणका लागि वृहत उद्देश्यका साथ संयन्त्र बनाइएको उनले बताए।काठमाडौं, कात्तिक २४ : प्रधानमन्त्रीको चीन भ्रमणका सन्दर्भमा एमाले र कांग्रेसबीच दुई दलीय संयन्त्र नबनेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन्।
शनिबार बसेको एमाले सचिवालय बैठकपछि उपमहासचिव ज्ञवालीले एमाले र कांग्रेसले बनाइएको दुई दलीय राजनीतिक संयन्त्र प्रधानमन्त्रीको चीन भ्रमणका लागि नबनेको बताए।
दुई दलबीच निरन्तर संवाद र सहकार्य भइरहने वातावरण निर्माणका लागि वृहत उद्देश्यका साथ संयन्त्र बनाइएको उनले बताए।
‘पहिलो कुरा राजनीतिक संयन्त्र प्रधानमन्त्रीको चीन भ्रमण सफल पार्नका लागि बनाइएको होइन । दुई दलले सरकारको नीतिगत प्राथमिकता र संकल्प भनेर एउटा दस्तावेज तयार गरेका थियौँ, जसमा म पनि थिएँ,’ ‘उनले भने, सरकारले त्यसलाई आत्मसाथ गरेको छ त्यसको कार्यान्वयनलाई सहजीकरण गर्ने र दुई दलबीच निरन्तर संवाद सहकार्य भइरहने वातावरणका निर्माणका लागि वृहत उद्देश्यकासाथ संयन्त्र बनेको हो।’
सो अवसरमा उपमहासचिव ज्ञवालीले एमालेले सिंगो पार्टी पंक्तिलाई मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा सिफारिस उम्मेद्वारको नाम अनुमोदन गरेको जानकारी दिए।
बैठकले सिङ्गो पार्टी पंक्तिलाई उपनिर्वाचनमा एमालेको विजयीका निम्ति परिचालन हुन आह्वान गर्ने पनि गरेको छ।