Kathmandu Press

झुम्का काराकारबाट सुरुङ खनेर भागेका अभियुक्त १२ वर्षपछि पक्राउ

पक्राउ पर्नेमा इनरुवा–५ बलहाका विनायककुमार यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए।
झुम्का काराकारबाट सुरुङ खनेर भागेका अभियुक्त १२ वर्षपछि पक्राउ

सुनसरी, कात्तिक २४ : सुनसरीको रामधुनी नगरपालिकास्थित क्षेत्रीय कारागार झुम्काबाट सुरुङ खनी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । फरार भएको १२ वर्षपछि सुनसरी प्रहरीले ती व्यक्तिलाई पक्राउ गरर शुक्रबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा इनरुवा–५ बलहाका विनायककुमार यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए। कर्तव्यज्यान र हातहतियार खरखजना मुद्दामा कैदा भुक्तान गरिरहेका यादवसहित १२ जना २०६९ कात्तिक २३ गते फरार भएका थिए।

Hardik ivf

२०६५ वैशाख १६ गते विनायककुमार र श्यामकुमार यादवले प्रकाशपुर–६ का ३९ वर्षीय केशव कार्कीलाई गोली प्रहार गरी घाइते बनाएका थिए । उनको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो।

विनायकलाई कर्तव्यज्यान तथा हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत सुनसरीले २०६५ जेठ ८ गते २० वर्ष ८ महिना १४ दिन कैद फैसला गरेको थियो। यादवसहित १२ जनाको समूहले २०६९ कात्तिक २३ गते क्षेत्रीय कारागार झुम्कामा पर्खालको भित्री भगबाट सुरुङ  खनी भागेका थिए ।

विनायकलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले गोबरगाङाबाट पक्राउ गरी सिन्धुपाल्चोक कारागारमा कैद भुक्तानीका लागि पठाइएकामा २०७२ वैशाख १२ गते उनी कारागारबाट भागेका थिए। विनायक लामो समयदेखि भारतको सुपौलस्थित शिवनगरग्राम पञ्चायत रानीगञ्जमा बस्दै आउनुभएको थियो।

छठ मनाउन नेपाल आएका बेला विनायकलाई  पेस्तोल एक थान र त्यसमा प्रयोग हुने ११ राउन्ड गोलीसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए।

सुरुङ खनेर फरार भएका मध्ये ११ जना अझै फरार छन्। पक्राउ परेकाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रकाशित मिति: १०:५७ बजे, शनिबार, कात्तिक २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्