चाडपर्वमा दुर्घटनामा परी बागमती प्रदेशका १० जिल्लामा २४ जनाको मृत्यु
बागमती प्रदेशमा पर्ने उपत्यकाका तीन जिल्लाबाहेकका जिल्लामा चाडपर्वका समयमा सवारी दुर्घटनामा परी २४ जनाको मृत्यु भएको छ।चितवन, कात्तिक २० । बागमती प्रदेशमा पर्ने उपत्यकाका तीन जिल्लाबाहेकका जिल्लामा चाडपर्वका समयमा सवारी दुर्घटनामा परी २४ जनाको मृत्यु भएको छ।
काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका जिल्लामा दसैँको घटस्थापना अर्थात् असोज १७ गतेदेखि कात्तिक २० गते बिहानसम्म २३० दुर्घटना भएकामा २४ जनाको मृत्यु भएको हो।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार ती दुर्घटनामा परी ६२८ जना घाइते भएका छन्।
दसैँको घटस्थापनादेखि असोज मसान्तसम्म प्रदेशका १० जिल्लामा ११६ वटा दुर्घटना भएका थिए । ती दुर्घटनामा परी १५ जनाको मृत्यु भएको थियो भने ४१६ जना घाइते भएका थिए ।
यस्तै, कात्तिक १ गतेदेखि २० गते बिहानसम्ममा एक सय १४ वटा दुर्घटना भएका र ती दुर्घटनामा नौ जनाको मृत्यु हुनुका साथै २१२ जना घाइते भएका छन् ।
चाडपर्वको समयमा वर्षा हुँदा ग्रामीण क्षेत्रका सडकमा समस्या हुने गरेकाले दुर्घटना बढेको हो । प्रहरी उपरीक्षक सुवेदीले भने, ‘सडकको कमजोर अवस्थामा जोखिम मोलेर सवारी चलाउने परिपाटीले गर्दा दुर्घटना बढेको हो । ट्राफिक नियमको पालनामा चालक र यात्रु सचेत नहुँदा पनि दुर्घटना हुने गरेका छन्।’
दुर्घटना न्यूनीकरणका लागि हरेक हाल कार्यालयले सवारी चालकलाई प्रतिबद्धता, हरेक जिल्लामा नियमित तथा आकास्मिक जाँचलगायत गतिविधिलाई तीव्र बनाइएको उनले जानकारी दिए।