Kathmandu Press

काभ्रेमा अझै संकलन हुन सकेन बाढीपहिरोको क्षतिको पूर्ण विवरण

गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाको बाढीपहिराले काभ्रेको विभिन्न स्थानीय तहमा ठूलो जनधनमा क्षति पुर्‍याउनु साथै कृषि, पशु, शिक्षा, सडक, सञ्चार तथा विद्युतको क्षेत्रमा क्षति पुर्याउँदा स्थानीय नागरिकले कष्टकर जीवन बिताउन बाध्य बन्नुपरेको छ।
काभ्रेमा अझै संकलन हुन सकेन बाढीपहिरोको क्षतिको पूर्ण विवरण

काभ्रे, कात्तिक १३ : बाढीपहिराले जनधनको ठूलो क्षति पुर्याएको एक महिना भयो। 

गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाको बाढीपहिराले काभ्रेको विभिन्न स्थानीय तहमा ठूलो जनधनमा क्षति पुर्‍याउनु साथै कृषि, पशु, शिक्षा, सडक, सञ्चार तथा विद्युतको क्षेत्रमा क्षति पुर्याउँदा स्थानीय नागरिकले कष्टकर जीवन बिताउन बाध्य बन्नुपरेको छ।

घटनाको एक महिना बितिसक्दा पनि जिल्लामा मानवीय क्षतिबाहेक अन्य विविध क्षतिबारे पूर्ण विवरण संकलन हुनसकेको छैन। स्थानीय तहले पनि यस समयमा आफ्नो क्षेत्रमा भएका क्षतिको पूर्ण विवरण सार्वजनिक गर्न सकिरहेका छैनन्। 

Hardik ivf

जिल्लाका १३ स्थानीय तहमध्ये रोशी र बेथानचोक गाउँपालिका तथा पनौती नगरपालिका अतिप्रभावित क्षेत्रमा पर्छन्। बनेपा र धुलिखेल नगर संकटग्रस्त क्षेत्रमा घोषणा नगरे पनि प्रारम्भिक मूल्यांकनका आधारमा जनधनको क्षतिसहित एक अर्बभन्दा बढीको क्षति हुने तहमा परेका छन्। 

जिल्ला विपद् व्यवस्थापन समिति तथा नगरका बैठकमार्फत सरकारलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न अनुरोध गर्दै आएका छन्।

प्रारम्भिक विवरणहरू आइरहेको र पूर्ण विवरण भने केही हप्तामै आउने प्रमुख जिल्ला अधिकारी एवं समितिका संयोजक उमेश ढकालले बताए। उनका अनुसार पीडितलाई थप आर्थिक सहयोग तथा राहतका लागि गत हप्तादेखि नै स्थानीयस्तरमा क्षतिको यकिन विवरण संकलनकार्य सुरु गरिएको छ। 

धुलिखेलका नगरप्रमुख अशोक ब्याञ्जूसहित जनप्रतिनिधिको टोलीले उपप्रधान एवं सहरी विकासमन्त्री तथा गृहमन्त्रीसमेतलाई भेटेर संकटग्रस्त क्षेत्रमा समावेश गर्न ध्यानाकर्षण गराएका छन् भने धुलिखेल खानेपानीको क्षतिमा सहयोग पुर्याउन जर्मन सरकारसँग राजदूतमार्फत सहयोगका लागि अनुरोध गरिएको छ। 

हालैको विपद्ले नगरभित्र पुर्याएको सम्पूर्ण क्षतिको पूर्ण विवरण केही दिनमै सार्वजनिक गरिने नगरप्रमुख ब्याञ्जूले बताए।  

काभ्रेपमा गत असोजको बाढीपहिरोबाट ७८ जनाको निधन भएको थियो । ६जना अझै बेपत्ताको अवस्थामा रहेका छ भने ७९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ। 

कार्यालयका अनुसार बाढीपहिरोका कारण आठ सय ६७ जनालाई हेलिकप्टरबाट तथा तीन हजार दुई सय ९९ जनाको अन्य माध्यमबाट उद्धार गरिएको थियो । जिल्लामा हालसम्म प्राप्त प्रारम्भिक विवरणानुसार जिल्लामा निजी आवासतर्फ करिब चार हजार पूर्ण क्षति भएको छ भने सात हजार घरमा आंशिक क्षति पुगेको अनुमान गरिएको छ। तीन दर्जन सरकारी भवन तथा सोही सङ्ख्यामा सार्वजनिक भवन पूर्ण रूपमा क्षति भएका छन्।
 
यस्तै बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको विभिन्न सडकखण्डमा आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएपछि अस्थायी डाइभर्सन गरी एकतर्फी यातायात सञ्चालन गरिएको छभने १९ प्रमुख ग्रामीण सडकको अधिकांश खण्डमा पहिरो गई करिब छ सय ५५ किमी सडक अवरुद्ध भएको जनाइएको छ । हाल खानीखोला गाउँपालिकाबाहेक सबै सडक सञ्चालनमा आएको छ।

प्रकाशित मिति: १३:२३ बजे, मंगलबार, कात्तिक १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्