इजरायलद्वारा इरानका सैन्य इलाकामा क्षेप्यास्त्र आक्रमण
राजधानी तेहरान, सैन्य आधार तथा मिसाइल उत्पादन केन्द्र रहेको इस्फाहान र हवाई क्षेत्र रहेको मशहदमा विस्फोटको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।-1729918551.jpg)
जेरुसेलम, कात्तिक १० : इजरायलले इरानका विभिन्न सैन्य इलाकामा शनिबार विहान क्षेप्यास्त्र आक्रमण गरेको छ।
इजरायलको सुरक्षा बल (आइडीएफ) का अनुसार यस आक्रमणमा इजरायलका सबै सैन्य क्षमताहरू पूर्ण रूपमा परिचालित गरिएको छ। राजधानी तेहरान, सैन्य आधार तथा मिसाइल उत्पादन केन्द्र रहेको इस्फाहान र हवाई क्षेत्र रहेको मशहदमा विस्फोटको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
यो आक्रमण लगभग २६ दिनअघि इरानले इजरायलका शहरहरूमा १८१ वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि इजरायलले प्रतिशोधस्वरूप गरेको हो। प्रारम्भिक आक्रमणपछि एक घण्टामा दोस्रो लहरको क्षेप्यास्त्र प्रहार भएको जनाइएको छ। जसमा मध्य सहर शिराजमा विस्फोट भएको बताइएको छ।
जेरुसेलम पोस्टको रिपोर्ट अनुसार इजरायलले गाजामा रहेको बुरेज शरणार्थी शिविरमा पनि आक्रमण गरेको छ।
यो आक्रमणले पश्चिमी देशहरूमा मध्यपूर्वको तनाव सम्पूर्ण युद्धमा बदलिने आशंका पनि बढाएको छ ।
हालसम्म इरानका अधिकारीहरूले आक्रमणबारे पुष्टि गरेका छैनन्। इरानको नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गर्दै आफ्नो हवाई मार्ग शनिबार बिहान ९ बजे (स्थानीय समय) सम्मका लागि बन्द गरेको जनाएको छ।