Kathmandu Press

दसैँ सुरू हुँदा पनि बजारमा छैन ग्राहकको चहलपहल, के भन्छन् व्यवसायीहरू ?

किन घट्यो यसपालि बजारमा ग्राहकको चहलपहल ?
दसैँ सुरू हुँदा पनि बजारमा छैन ग्राहकको चहलपहल, के भन्छन् व्यवसायीहरू ?

काठमाडौं, असोज १८ । दसैँले छपक्कै छोपिसक्यो। काठमाडौंमा सार्वजनिक सवारी साधनका यात्रुदेखि चोक र चियापसलमा समेत दसैँमा घर जानेबारे चर्चा सुनिन्छ।

घर जानकै लागि उपत्यकाका विभिन्न ठाउँहरूबाट उपत्यका बाहिरिने सवारी साधनको संख्या दैनिक बढिरहेको छ।  बसपार्क र टिकट काउन्टरहरूमा  यात्रुको भिड बढ्न थालेको छ।

अरू क्षेत्रमा चहलपहल बढेपनि व्यापार व्यवसाय क्षेत्र भने यसपालि कम चहलपहल रहेको व्यवसायीहरू बताउँछन्। दसैँको बेला फुटपाथदेखि सपिङ मलसम्ममा  ग्राहकको घुँइचो हुन्थ्यो अघिल्ला वर्षहरुमा । तर यसपालि त्यस्तो नभएको असन, न्यूरोडदेखि मंगलबजार, लगनखेल र भक्तपुरसम्मका व्यवसायीहरू बताउँछन्। 

Hardik ivf

यसो हुनुमा उनीहरू दसैँको मुखैमा देशभरी भारी वर्षा हुनु र काठमाडौं उपत्यकामा अझै बढी प्रभावित हुनुलाई कारक मान्छन्। 

वर्षाका कारण काठमाडौंबाट अन्यत्र जिल्लासम्म पुग्नका लागि सडकको पहुँच टुटेको छ। सरकारले अवरूद्ध भएका सडकहरू यथाशीघ्र बनाउने भनेपनि केही सडकहरू दसैँअघि बनाउन नसकिने सडक विभागले बताएको छ। 

दसैँ तिहार अगाडि काठमाडौंका होलसेल बजारबाट देशका अन्य जिल्लाका गाउँ गाउँका पसलेहरूले  कपडा किनेर लैजान्थे। बाढी पहिरोले सडक अवरूद्ध हुँदा यसपालि गाउँ गाउँबाट कपडालगायतका सामग्रीहरू माग हुन सकेन। 

बीचमा भएको आर्थिक मन्दी पनि अहिलेको दसैँमा ग्राहक घट्नुको अर्को कारण रहेको उनीहरूको भनाइ छ। 

यी दुई कारणले यसपालि बजारमा मानिसहरुको चहलपहल कम भएको बताउँछन् असनका व्यापारी लक्ष्मण भुसाल । 

बाढीकै कारण  अर्डर गरेका सामानहरू पनि बाटोमै रोकिएकाले यसपालि व्यवसायमा थप नोक्सान व्यहोर्नुपरेको उनी बताउँछन्। 

‘आर्थिक मन्दी त छँदै थियो, त्यसबीचमा बाढी पहिरो आयो । राजमार्ग अवरुद्ध भएपछि सामान आइपुग्न सकेन । अर्डर गरेको सामानहरु बाटोमै अलपत्र परेको छ । नेपालमा पैसा कमाउने बातावरण नै छैन् । देशसँग नै पुँजी छैन् । बिदेशबाट कमाएर ल्याएर किनमेल गर्नुपर्ने छ र यही पैसा कमाएर खुलेर सपिङ गर्ने अवस्था देखिएको छैन,’ उनले भने ।

बजारमा ग्राहकहरू घट्नुमा फुटपाथ व्यवसाय विस्थापित हुनु पनि अर्को कारक ठान्छन् केही व्यवसायी। 

‘पहिले पहिले पसलका सामानहरु फुटपाथका व्यापारीले उठाइदिन्थे । अहिले त्यस्तो छैन । किनमेल गर्न आएकाहरु पर्यटकजस्ता छन् । भीडभाड नै छैन । सामान डेलिभर गर्न पनि एक हप्तासम्म लाग्ने गरेको छ,’ असनकै अर्का व्यापारीले भने ।

काठमाडौं उपत्यकाभित्रका पसलहरुमा ७० प्रतिशतले व्यापार घटेको उनीहरुको भनाइ छ ।

विगतका वर्षहरुमा जस्तो यस वर्ष आर्थिक मन्दी र बाढी पहिरोको दुवै प्रभावले व्यापार घटेको व्यापारीहरुको भनाइ छ । दसैं लागेसँगै बजारमा ग्राहकहरु बढ्ने र व्यापारीहरुलाई केही राहत मिल्ने आशा भएपनि बाढी पहिरोका कारण बजार थप प्रभावित भएको उनीहरुको गुनासो छ। 

Photo-(1)-(5)-1728052982.jpg

Laxman-Bhusal--1728052982.jpg

Photo-(3)-(6)-1728052987.jpg

Photo-(2)-(10)-1728052987.jpg

Photo-(5)-(5)-1728052988.jpg

Photo-(4)-(4)-1728052988.jpg

Photo-(6)-(4)-1728053006.jpg

Photo-(7)-(5)-1728053007.jpg

Photo-(9)-(4)-1728053066.jpg

Photo-(8)-(3)-1728053066.jpg(नेपाल न्युज ब्यांकको सहयोगमा)

प्रकाशित मिति: २०:३५ बजे, शुक्रबार, असोज १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्