‘जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन’
उनले समाजमा अहिलेको व्यवस्था र सरकारप्रति भ्रम छर्ने काम भएको बताउँदै सकारात्मक कामको जनतासमक्ष सही सूचना दिनु आवश्यक रहेको उल्लेख गरे।नवलपरासी, असोज १ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे जनसहभागिताबिनाका कुनै पनि योजना सफल हुन नसक्ने बताएका छन्।
नवलपरासी बर्दघाट सुस्तापूर्वको मध्यविन्दु नगरपालिका–११ मा सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले सरकारको मात्र लगानीले योजना सफल नहुने बताए।
‘आम जनताको सहभागिताबिना कुनै पनि मुलुक सफल हुन सक्दैन, त्यसैले जनचासो र जनसहभागिता हरेक क्षेत्रमा आवश्यक छ,’ उनले भने, ‘संघ, प्रदेश र स्थानीय सरकारले गर्न खोजेका कार्यक्रममा जनताको सकारात्मक साथ र चासो भएमात्र काम सफल हुने देखिन्छ।’
उनले समाजमा अहिलेको व्यवस्था र सरकारप्रति भ्रम छर्ने काम भएको बताउँदै सकारात्मक कामको जनतासमक्ष सही सूचना दिनु आवश्यक रहेको उल्लेख गरे। जनतामा नकारात्मक भाव पैदा गर्ने काम धेरै भएकाले भए–गरेका कामको जानकारी जनताले लिनु आवश्यक रहेको उनको भनाइ छ।
‘देशमा काम नभएको होइन, धेरै भएको छ। त्यसलाई जनतासमक्ष पुर्याउँदा नकारात्मक भावना छर्ने काम भएको छ, त्यस्ता कुराले मुलुकको दूरभविष्यलाई असर पार्दछ’, मुख्यमन्त्री पाण्डेले भने, ‘केही भएन होइन कि भएका के छन् र गर्नुपर्ने के हो, यसमा मेरो सहभागिता के हो भन्ने सोच जनतामा हुनु आवश्यक छ।’
गण्डकी प्रदेशले प्रत्येक आर्थिक वर्षमा नवप्रवर्तन कार्यक्रममार्फत प्रदेशभित्रका स्थानीय सरकारसँग साझेदारीमा नवीनतम् कार्य गर्दै आएको उनले जानकारी दिए। चालु आर्थिक वर्षमा पनि १८ वटा स्थानीय सरकारसँग साझेदारी गर्नेगरी मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम छनोट भएको उनले बताए।