Kathmandu Press

सुदूरपश्चिम सरकारले ल्यायो बजेट

चालु आवका लागि कूल विनियोजन मध्ये चालुतर्फ१२ अर्ब ८५ करोड ७४ लाख पाँच हजार र पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख २३ हजार र वित्तीय व्यवस्थापनतर्फ एक करोड विनियोजनको व्यवस्था गरिएको छ। 
सुदूरपश्चिम सरकारले ल्यायो बजेट

कैलाली, ३१ भदौ : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ। 

प्रदेशसभाको आजको दोस्रो बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सरकारले चालु आवमा लिएका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उक्त बजेट प्रस्तुत गरेका हुन्।

चालु आवका लागि कूल विनियोजन मध्ये चालुतर्फ१२ अर्ब ८५ करोड ७४ लाख पाँच हजार र पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख २३ हजार र वित्तीय व्यवस्थापनतर्फ एक करोड विनियोजनको व्यवस्था गरिएको छ। 

Hardik ivf

चालु आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्व परिचालनबाट एक अर्ब ६० करोड ७० लाख १५ हजार, नेपाल सरकारबाट राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम नौ अर्ब ९९ करोड ९९ लाख, संघीय रोयल्टी बाँडफाँटवाफत प्राप्त हुने रकम चार करोड चार लाख ५५ हजार रहेको छ। 

नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट आठ अर्ब ७२ करोड २७ लाख, आर्थिक वर्ष २०८०/८१ को विनियोजनबाट बचत हुने अनुमानित रकम छ अर्ब १५ करोड ८३ लाख ५८ हजार, सशर्त अनुदानबाट प्राप्त हुने रु तीन अर्ब १३ करोड ३४ लाख, संघीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको एक अर्ब ४२ करोड र विशेष अनुदानवापत ५५ करोड ६० लाख प्राप्त हुने अनुमान गरिएको छ। 

यसअघि आर्थिक मामिलामन्त्री थापाले प्रस्तुत गरेको २०८१ असार १ गते प्रदेश सरकारका तर्फबाट प्रदेशसभामा प्रस्तुत गरिएको ‘सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेकय २०८१’ र ‘बजेटसँग सम्बन्धित विनियोजन विधेयक २०८१’ लाई फिर्ता लिनेसम्बन्धी प्रस्तावलाई बैठकले स्वीकृत गरेको थियो।

अघिल्लो सरकारको पालामा पारित भइसकेको नीति कार्यक्रमलाई आधार मानेर सरकारले यो बजेट ल्याएको हो। गत असार १ गते तत्कालीन मुख्यमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारीको सरकारले ल्याएको बजेटमा समान्य हेरफेर एवं परिमार्जन गरेर अर्को बजेट प्रस्तुत गरिएको हो।

यसअघि आजको पहिलो बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्यले आआफ्नो आसनबाट उठेर विरोध जनाएपछि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन। त्यसक्रममा सभामुखको अनुमतिमा धारणा राख्दै नेकपा माओवादी केन्द्रका अक्कलबहादुर रावलले चालु आवका लागि असार १ गते बजेट प्रस्तुत गरिसकिएको र आज पुनःबजेट प्रस्तुत गर्ने काम संविधान र कानुन विपरीत भएकाले आफूलाई स्वीकार्य नहुने भन्दै विरोध गरेपछि सभामुख भीमबहादुर भण्डारीले २० मिनेटका लागि बैठक स्थगित गरेका थिए।

आजै बसेको तेस्रो बैठकमा आर्थिक मामिलामन्त्री थापाले प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)को प्रति, उक्त बजेटसँग सम्बन्धित विधेकय २०८१ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेकय २०८१ लाई सभासमक्ष टेबुल गरेका छन्।

प्रकाशित मिति: २०:५९ बजे, सोमबार, भदौ ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्