Kathmandu Press

पल्सर स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक, काे-काे परे मनाेनयनमा?

सोमबार नेपाल खेलकुद पत्रकार मञ्चले एक कार्यक्रमकाबीच वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षको मनोनयन सार्वजनिक गरेको हो।
पल्सर स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक, काे-काे परे मनाेनयनमा?

काठमाडौं, भदौ २४ : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्टस अवार्डको २१ औं संस्करणको चार विधाको मनोनयन सार्वजनिक गरिएको छ।

सोमबार नेपाल खेलकुद पत्रकार मञ्चले एक कार्यक्रमकाबीच वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षको मनोनयन सार्वजनिक गरेको हो।

विस २०८० मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा गरेको प्रदर्शन र नतिजालाई आधार मानेर मञ्चका महासचिव प्रज्वल ओलीको संयोजकत्वमा गठित सात सदस्यीय छनोट समितिले वर्ष खेलाडी र प्रशिक्षकको मनोनयन गरिएको मञ्चले जानकारी दिएको छ।

वर्ष उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा  राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल, क्रिकेटकै दीपेन्द्रसिंह ऐरी र फुटबलका अनन्त तामाङ परेका छन्। यस्तै उनीहरुले कराँतेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङ चुनौती दिने छन्। 

यस्तै, महिला उत्कृष्ट वर्ष खेलाडीका लागि  राष्ट्रिय फुटबल टिमकी सावित्रा भण्डारी, क्रिकेटकी रुविना क्षेत्री, कराँतेकी एरिका गुरुङ एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र कबड्डीकी मेनुका राजवंशीबीच प्रतिस्पर्धा हुनेछ। 

युवा वर्ष खेलाडीका लागि यू–१९ क्रिकेट टिमका ओपनर अर्जुनल कुमाल, राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर प्रीति राई, भारोत्तोलनका हेमन्त पाल, टेबलटेनिसका सुजन गदाल र टेनिसकी सुनीरा थापाबीच प्रतिस्पर्धा हुनेछ।

यस्तै, वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा पारा तेक्वान्दोका कविराज नेगी लामा राष्ट्रिय क्रिकेट टिमका मोन्टी देसाई, कराँतेका कुशल श्रेष्ठ, कबड्डीकी पार्वती राई र भारतत्तोलका सञ्जय महर्जन परेका छन्। 

आयोजकका अनुसार मनोनयनमा परेका पाँच जनामध्यबाट अवार्डकै दिन विजेता घोषणा गरिनेछ। स्पोर्ट्स अवार्ड भदौ २८ गते शुक्रबार नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना हुँदैछ।

पिपुल्स च्वाइस विधाको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ। पिपल्स च्वाइस विधाको मनोनयनमा गुलसन झा (क्रिकेट), कविता भट्ट (भलिबल), मानमती विष्ट (कबड्डी), प्रीति राई (फुटबल) र श्रीराम श्रेष्ठ (रग्बी) परेका छन् । उनीहरूको भोटिङका लागि प्रचारप्रसार तीव्र भइरहेको छ।

यसपटक वर्ष पुरुष, महिला, युवा र प्रशिक्षक विधाको विजेतालाई पल्सर एनएस २०० मोटरबाइक प्रदान गरिनेछ।

पिपुल्स च्वाइस विधाको विजेताले पल्सर एनएस ४०० मोटरबाइक जित्ने छन् भने अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयाँ र गिफ्ट हयाम्पर प्रदान गरिनेछ।

प्रकाशित मिति: १६:४७ बजे, सोमबार, भदौ २४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्