म्याद सकियो, आयोजना सकिएन
निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि एक वर्ष म्याद थप गर्दै आगामी २०८२ असार महिनासम्ममा आयोजनाको काम सम्पन्न गर्ने गरी अघि बढेको आयोजनाका प्रबन्धक निर्देशक दिनेश गुरुङले बताए।लमजुङ, भदौ २४ : सिउरी न्यादी हाइड्रो पावर कम्पनीद्वारा लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ ङादीखोलामा निर्माणाधीन ४२.६० मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनाको म्याद सकिए पनि काम भने अझै सम्पन्न हुन सकेको छैन।
आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पिपीए) अनुसार दुई वर्षभित्र अर्थात् (२०८१ असारभित्र) विद्युत् उत्पादन सुरु गरिसक्नुपर्ने थियो। तर अझै करिब २० प्रतिशत निर्माण कार्य बाँकी रहेको छ।
निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि एक वर्ष म्याद थप गर्दै आगामी २०८२ असार महिनासम्ममा आयोजनाको काम सम्पन्न गर्ने गरी अघि बढेको आयोजनाका प्रबन्धक निर्देशक दिनेश गुरुङले बताए। उनले निर्धारित समयमा काम सम्पन्न गर्ने गरी अघि बढेको उक्त आयोजना कोरोना महामारीका कारण सम्पन्न गर्न समय लागेको बताए।
एक दिनमा हुने काम सात दिन लाग्ने, सामग्री ढुवानी गर्न समस्या, कामदार आउन समस्या, २२० केभी प्रसारण लाईनको ट्रान्समिसन लाईन सम्पन्न नभएका कारणले निर्माणमा ढिलाइ भएको प्रबन्धक निर्देशक गुरुङले बताए।
आयोजनाको विद्यृत् गृह पुग्ने पहुँच सुरुङ मार्गको ‘ब्रेक थ्रु’ सम्पन भएको छ। विद्युत् गृह निर्माणका लागि ३८७ मिटर सुरुङ मार्ग निर्माण गर्ने, भूमिगत विद्युत् गृह खन्ने, सुरुङका लागि दुईवटा अडिट टनेलसहित पाँच सय मिटर खन्ने लगायतका काम सम्पन्न भइसकेका छन्। साथै बाँधसम्मको २२ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएको प्रबन्धक निर्देशक गुरुङले बताए।
आगामी असोज १ गते ८ किलोमिटरको सुरुङ पनि ब्रेक थ्रू हुने तयारीमा रहेको छ। पेनस्टक र विद्युत् गृहको काम अन्तिम चरणमा पुगेको छ। जी एण्ड जी इन्फ्र प्राइभेट लिमिटेडले निर्माण गरिरहेको उक्त आयोजनामा एनएमबी बैंकको अगुवाइमा ६ वटा वित्तीय संस्थाले रु पाँच अर्ब २५ करोड ऋण लगानी गरेका छन्। प्रवदद्र्धकको स्वपुँजी रु एक अर्ब ७५ करोड रहने छ।