सरकारी निकायहरुबीच तालमेल नहुँदा विकासमा बाधा पुग्योः मन्त्री तामाङ
काठमाडौं, भदौ २१ः ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङले सरकार एक आपसमा बाझेर (क्षेत्राधिकार र कानुन विवाद) देश विकास हुन नदिएको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सरकारमा आएपछि सरकारका निकायहरु एक आपसमा बाझेर देश विकास हुन नसकेको कुरा अनुभव गर्न पाएको बताए।
उनले भने, ‘म जति दिन मन्त्रालयमा बस्छु त्यति दिन काम गर्नेछु। दिन पनि गनेर बसेको छु। सरकार–सरकार बाझेर यो देश विकास हुन दिएको छैन। दुईचारवटा सरकार बाझिँदा पनि देश विकास नभएको सरकारमा आएपछि बुझें। हाइड्रोपावरको सन्दर्भमा वनले फाइलहरु रोकेर राख्छ।’
यस्तै, उनले ७७ वटै जिल्लाका हरेक गाँउमा बत्ती पुर्याउने काम गर्ने पनि बताएका छन्।
उनले भने, ‘दोलखा, रामेछाप लगायत ७७ जिल्लामा मेरो लक्ष्य के छ भने म मन्त्री हुने दिनसम्म एकदुईवटा मात्र घर रहेको गाउँ भएपनि, खर्च धेरै लाग्ने रहेछ भनेपनि, दुईवटा घरमा बत्ती बाल्ने काम गर्छु। त्यसो भयोभने गरिबले पनि बत्ति बाल्न पायो। सरकारले जनताको काम गर्नुपर्छ भन्ने लाग्छ । त्यही हिसाबले म मेरो जिम्मेवारी पूरा गर्छु।’
उनले व्यापारीहरुले बत्तीको पैसा तिर्न सकेन मिनाहा गर्नुपर्छ भन्ने कुरा गलत भएको भन्दै सरकारले जसरी भएपनि त्यो पैसा उठाउनुपर्ने बताए।