Kathmandu Press

स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छ : मुख्यमन्त्री आचार्य

उनले सरकारी कार्यालयबाट हुने सेवा प्रवाहलाई छिटोछरितो र सेवाग्राहीमुखी बनाउन छिट्टै विभिन्न तहमा कर्मचारी भर्ना प्रक्रियासमेत अगाडि बढाइने बताए।  
स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छ : मुख्यमन्त्री आचार्य
फाइल तस्बिर।

अर्घाखाँची, भदौ २१ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय कर्मचारी ऐन र प्रदेश कर्मचारी ऐन यसै वर्षबाट लागू हुने बताएका छन्। 

कर्मचारी ऐन लागू हुन नसक्दा कर्मचारीमा निराशा छाएको बताउँदै उनले यस वर्ष ऐन पारित गरेर कर्मचारीको मनोबल उचो बनाइने बताए। 

Hardik ivf

गृहजिल्ला अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले आयोजना गरेको कार्यक्रममा उनले सरकारी कार्यालयबाट हुने सेवा प्रवाहलाई छिटोछरितो र सेवाग्राहीमुखी बनाउन छिट्टै विभिन्न तहमा कर्मचारी भर्ना प्रक्रियासमेत अगाडि बढाइने बताए।  

‘संघीय सरकारले हस्तान्तरण गरेको स्वीकृत दरबन्दीअनुसार प्रदेश सरकार मातहत रहेका कार्यालयमा चार हजार ७८ जना कर्मचारीको दरबन्दी रहेकामा हाल दुई हजार एक सय ७८ जना कर्मचारीमात्र कार्यरत रहेका छन्। रिक्त रहेका एक हजार नौ सय कर्मचारीको पदमा अब छिट्ट लोकसेवा आयोगमार्फत विज्ञापन खोलिने छ। त्यसपछि सेवा प्रवाहमा थप सहज हुनेछ”, मुख्यमन्त्री आचार्यले भने।  

उनले अर्घाखाँची र गृहनगरको विकासका लागि संघीय सरकारसँग समन्वय गरेर पर्याप्त बजेटका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। 

मुख्यमन्त्री आचार्यले प्रदेश मातहतका सबै कार्यालय र प्रदेश सरकारबाट प्राप्त भएका तर नगरपालिकाले कार्यान्वयन गर्ने बजेटका योजना प्रतिस्पर्धाबाट गर्न पत्राचार गरिएको बताए।

‘नाम उपभोक्ता समितिको देखाउने तर काम निर्माण व्यवसायीलाई गराउने प्रवृत्ति छ। त्यसैले बीचमा हुने चलखेल रोक्न सबै काम प्रतिस्पर्धाबाट गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । सोहीअनुसार पत्राचार गरिसकेका छौं,’ उनले भने।

प्रकाशित मिति: १५:३५ बजे, शुक्रबार, भदौ २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्