बंगलादेशमा फेरि चर्कियो प्रदर्शन, आइतबार मात्रै ९० बढीको मृत्यु
सिराजगन्जस्थित इनायतपुर प्रहरी स्टेसनमा आक्रमण हुँदा १३ जना प्रहरीको मृत्यु भएको छ। आइतबार दिउँसो केही व्यक्तिको समूह आएर प्रहरी चौकीमा आक्रमण गरेको बताइएको छ।
काठमाडौं, साउन २१ : बंगलादेशमा फेरि हिंसात्मक प्रदर्शन चर्किएको छ केही दिन मत्थर भएको सरकारविरोधी आन्दोलन पुनः चर्किएको हो।
आइतबार बंगलादेशका विभिन्न ठाउँमा सरकारविरोधी प्रदर्शनका क्रममा कम्तीमा ९१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। विद्यार्थीको प्रदर्शनका क्रममा ठाउँ–ठाउँमा सुरक्षाकर्मीसँग झडप भएको छ।
सिराजगन्जस्थित इनायतपुर प्रहरी स्टेसनमा आक्रमण हुँदा १३ जना प्रहरीको मृत्यु भएको छ। आइतबार दिउँसो केही व्यक्तिको समूह आएर प्रहरी चौकीमा आक्रमण गरेको बताइएको छ।
ड्युटीमा रहेका १३ प्रहरीलाई कुटिकुटी मारिएको ढाका ट्रिब्युनले जनाएको छ। केही ठाउँमा सत्तारुढ दल अवामी लिगका कार्यकर्ता र प्रदर्शनकारी विद्यार्थीबीच पनि झडप भएको छ। केही ठाउँमा अवामी लिगका कार्यकर्ता र नेताहरूको समेत मृत्यु भएको छ।
नरसिंगडी जिल्लामा अवामी लिगका ६ कार्यकर्ताको मृत्यु भएको छ। ढाकाका विभिन्न क्षेत्रमा भएको प्रदर्शनका क्रममा केही विद्यार्थीसहित ८ जनाको मृत्यु भएको जनाइएको छ।
त्यस्तै लक्ष्मीपुरमा ८ जनाको मृत्यु भएको छ । त्यस्तै सिल्हेटमा छात्र लिग, आन्दोलनकारी विद्यार्थी र प्रहरीबीच भएको झडपमा ५ जनाको मृत्यु भएको बताइएको छ।
बंगलादेशमा विद्यार्थीहरू सरकारी जागिरमा आरक्षणको विरोध गर्दै आन्दोलनमा उत्रिएका हुन्। पछिल्लो पटक उनीहरूको एकसूत्रीय माग सरकारको राजीनामा रहेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएको छ।











-(32)-1764944804.jpeg)
