केन्द्रीय कमिटीलाई पूर्णता दिन नेकपा एसले गठन गर्यो कार्यदल
सबै प्रदेशले गरेको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्यांकन गरी कार्यदलले पदाधिकारी र केन्द्रीय सदस्यको नाम सिफारिस गर्ने नेता सोमप्रसाद पाण्डेयले जानकारी दिए।
काठमाडौं, साउन १६ : नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यदल गठन गरेको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधव नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो। कार्यदलमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पनि छन्।
सबै प्रदेशले गरेको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्यांकन गरी कार्यदलले पदाधिकारी र केन्द्रीय सदस्यको नाम सिफारिस गर्ने नेता सोमप्रसाद पाण्डेयले जानकारी दिए।
विधानअनुसार पार्टीमा २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ। समावेशिताको अनुपात र सङ्ख्याअन्तर्गत दलित, आदिवासी जनजाति र खुला समूह निर्धारण गरी क्लष्टर छुट्टाइएको छ।
समावेशी महिला र समावेशी २५ देखि ४५ वर्षको उमेर समूह तथा खुला उमेर समूह निर्धारण गरिएको छ।
हालै सम्पन्न महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेकाले बाँकी २०६ केन्द्रीय सदस्य पद रिक्त छन्।
बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयवस्तुको समीक्षाका साथै पार्टीको भावी कार्ययोजनाबारे छलफल गरिएको जनाइएको छ।












