‘नीतिगत सुधारसहित पर्यटन क्षेत्रलाई चलायमान बनाउछौं’
मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत र संरचनागत सुधार गर्न मन्त्रालय तयार रहेको बताए। उनले सार्वजनिक निजी साझेदारीको बोर्डलाई प्रभावकारी ढंगले सञ्चालन गर्दै पर्यटनलाई चलायमान बनाउन निर्देशन दिए।
काठमाडौं, साउन १६ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आवश्यक नीतिगत सुधारसहित पर्यटन क्षेत्रलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल पर्यटन बोर्डले आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत र संरचनागत सुधार गर्न मन्त्रालय तयार रहेको बताए। उनले सार्वजनिक निजी साझेदारीको बोर्डलाई प्रभावकारी ढंगले सञ्चालन गर्दै पर्यटनलाई चलायमान बनाउन निर्देशन दिए।
नेपालमा पर्यटनको अथाहा सम्भावना रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले पर्यटनका लागि प्रकृतिले दिएको अद्धितीय सम्भावनाको सदुपयोग गर्दै नेपालको आर्थिक समृद्धिमा पर्यटनको योगदानलाई बढाउनुपर्नेमा जोड दिए। उनले पर्यटनलाई थप चलायमान बनाउन अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति आवश्यक भएको बताए।
मन्त्री पाण्डेलाई पर्यटन मन्त्रालयका सचिव एवं बोर्डका अध्यक्ष डा. गणेशप्रसाद पाण्डे, बोर्डका उपाध्यक्ष कमल सापकोटा, निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐर, बोर्ड सञ्चालक समिति सदस्यलगायतलले स्वागत गरेका थिए।












