डीआईजीबाट अवकाश प्राप्त पोखरेलको रिट दर्ता गर्न सर्वोच्चको आदेश
एआईजी बढुवामा सिफारिस भएर पनि नियुक्ति नदिइएको बताउँदै पोखरेलले गत ६ साउनमा सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए। तर सर्वोच्च अदालतको प्रशासनिक तहबाटै रिट दरपिठ गरी दर्ता गर्न अस्वीकार भएको भन्दै उनले अर्को निवेदन दिएका थिए।
काठमाडौं, साउन ८ : सर्वोच्च अदालतले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएर पनि नियुक्ति नपाई डीआईजीबाटै अवकाश पाएका पोषराज पोखरेलको रिट दर्ता गर्न आदेश दिएको छ।
डिआईजी पोखरेललाई गत असार १० गते गृहमन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो।
एआईजी बढुवामा सिफारिस भएर पनि नियुक्ति नदिइएको बताउँदै पोखरेलले गत ६ साउनमा सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए। तर सर्वोच्च अदालतको प्रशासनिक तहबाटै रिट दरपिठ गरी दर्ता गर्न अस्वीकार भएको भन्दै उनले अर्को निवेदन दिएका थिए।
सर्वोच्चमा मंगलबार भएको सुनुवाईपछि न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले पोखरेलको माग बमोजिम रिट निवेदन दर्ता गर्न आदेश दिएको छ। उक्त आदेशपछि पोखरेलको रिट दर्ता भई सुनुवाई प्रक्रियामा जाने छ।
सरकारमा फेरबदल भएपछि एआईजी बढुवामा कुनै निर्णय नभएका कारण नियुक्ति प्रक्रिया अबरुद्ध हुँदा पोखरेल १९ असारदेखि अनिवार्य अवकाशमा गएका थिए। बढुवा सिफारिसमा परे पनि बढुवा नगरेका कारण अवकाश हुनुपरेको प्रश्न पोखरेलले उठाएका छन्।