अध्यागमनका कर्मचारीलाई ‘स्मार्ट’ र ‘स्माइलिङ’ हुन गृहमन्त्रीको सुझाव
‘तपाईंहरूलाई भेट्नेबित्तिकै नेपाल कस्तो छ, नेपाली कस्ता छन् भन्ने कुरा त्यहीँबाट प्राप्त हुन्छ। त्यो भाव र भावनाका साथ काम गर्नुस्,’ गृहमनत्री लेखकले भने।
काठमाडौं, साउन ८ : गृहमन्त्री रमेश लेखकले अध्यागमन मुलुकको अनुहार भएको बताउँदै कर्मचारीलाई ‘स्मार्ट’ र ‘स्माइलिङ’ हुन सुझाएका छन्।
मंगलबार अध्यागमन विभागको निरीक्षण गर्नेक्रममा गृहमन्त्री लेखकले उक्त कुरा बताएका हुन्। लेखकले मुलुकभित्र प्रवेश गर्ने प्रत्येक मानिसले सबैभन्दा पहिला नेपालीका रूपमा भेट्ने अध्यागमन कर्मचारीलाई भएको पनि बताए।
‘तपाईंहरूलाई भेट्नेबित्तिकै नेपाल कस्तो छ, नेपाली कस्ता छन् भन्ने कुरा त्यहीँबाट प्राप्त हुन्छ। त्यो भाव र भावनाका साथ काम गर्नुस्,’ गृहमनत्री लेखकले भने।
बाहिर जाने मानिसलाई बिदाइ गर्ने अन्तिम नेपाली पनि अध्यागमनकै कर्मचारी भएको लेखकले बताए। उनले भने, ‘अलि स्मार्ट र स्माइलिङ पनि हुनुप¥यो। गलत ढंगले मान्छे आउने र जाने कुरामा कर्मचारीको संलग्नता देखिए कारबाही गरे हुन्छ।’
गृहमन्त्री लेखकले पछिल्लो समय मानव बेचबिखनका घटना बढेको सुन्नमा आएको भनाई पनि राखे। यस्ता कार्यलाई रोक्न सचेततापूर्वक खटिन कर्मचारीलाई निर्देशन समेत दिए।
यसैविच गृहमन्त्री लेखकले अध्यागमनसम्बन्धी विधयेक संशोधनका निम्ति एक महिनाभित्र मन्त्रालयमा प्रस्ताव पेस गर्न आग्रह गरेका छन्। यस्तै, गृहमन्त्री लेखकले दार्चुलाको तिंकर र मुस्ताङको कोरलामा अध्यागमन कार्यालय तत्काल स्थापनाका निम्ति प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिए।
लेखकले सुदूरपश्चिम प्रदेशमा दक्षिण–उत्तर जोड्ने महाकाली करिडोर, दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको योजना अघि बढाइएको पनि बताए।












