संविधान संशोधन रहर होइन, बाध्यता हो : प्रधानमन्त्री ओली
‘संविधान निर्माणका बखत पनि सर्वसम्मत भएको थिएन। पहिलो संशोधनका बेला पनि सर्वसम्मति थिएन। जो जसका जे जस्ता विचारधारा भएपनि हामी एक ठाउँमा आउन सक्छौं। यदि आउन सकिएन भने संविधानले आफ्नो प्रक्रिया आफ्नो निर्धारण गरेको छ,’ उनले भने।
काठमाडौं, असार ६ : प्रधानमन्त्री केपी ओलीले संविधान संशोधनीय दस्तावेज रहेको र जनताको आवश्यकतालाई मध्यनजर गर्दै परिमार्जन गर्न सकिने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा उनले विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्य पुष्टि हुनेगरी सकभर सर्वसम्मतिबाट संविधान संशोधन हुने बताएका छन्।
‘संविधान संशोधनीय, गतिशील र जीवन्त दस्ताबेज हो। यो आवश्यकता र जनताको मागअनुसार संशोधन हुन्छ। संशोधन रहरको विषय होइन। आवश्यकताको विषय हो,’ प्रधानमन्त्री ओलीले भने,’ ‘कुनै आग्रह पुर्वाग्रह राखेर संविधान संशोधन यस्तो–उस्तो गर्ने भन्दैनौं। देशको आवश्यकता, विकासका माग सम्बोधनका लागि जे गर्दा उपयुक्त त्यहि गर्नुपर्छ।’
संसदमा रहेका सबै दलको सहमतिको साथ नै संविधान संशोधन हुने अपेक्षा प्रधानमन्त्री ओलीले व्यक्त गरे।
‘संविधान निर्माणका बखत पनि सर्वसम्मत भएको थिएन। पहिलो संशोधनका बेला पनि सर्वसम्मति थिएन। जो जसका जे जस्ता विचारधारा भएपनि हामी एक ठाउँमा आउन सक्छौं। यदि आउन सकिएन भने संविधानले आफ्नो प्रक्रिया आफ्नो निर्धारण गरेको छ,’ उनले भने।
देश र जनताको हितको पक्षमा तथा अग्रगमनको पक्षमा रहनेगरी संविधान संशोधन प्रक्रिया अघि बढ्ने उनको भनाइ छ। त्यस्तै, लोकतन्त्रको रक्षा र सुदृढीकरण, सुशासन प्रवद्र्धन र विकास तथा समृद्धिका लागि संविधान संशोधन हुने प्रधानमन्त्री ओलीले भने।
संसदमा आएका राम्रा सुझावलाई ग्रहण गर्ने र आक्रोश, उत्तेजना तथा गालीगलौजलाई आफूले बिर्सिने प्रधानमन्त्रीले बताए।
त्यस्तै भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिबद्धता पनि उनले व्यक्त गर्नुभयो। प्रतिशोधको राजनीति आफूले नगर्ने र आफूलाई पनि सह्य पनि नहुने उनले बताए।












