संघ संस्थाले बााडेको राहत नलिन गाउँपालिका अध्यक्षको आग्रह
मकवानपुर, चैत २३ : मकवानपुरको विकट क्षेत्र कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तानले विभिन्न संघसंस्थाले वितरण गर्ने राहतलाई अस्वीकार गर्न स्थानीयलाई ....
मकवानपुर, चैत २३ : मकवानपुरको विकट क्षेत्र कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तानले विभिन्न संघसंस्थाले वितरण गर्ने राहतलाई अस्वीकार गर्न स्थानीयलाई अनुरोध गरेका छन्।
सामाजिक सञ्जालमार्फत अध्यक्ष मोक्तानले लकडाउनको अवधिमा खाना नपाई कोही मर्न नदिने सरकारले योजना बनाइसकेकाले ढुक्क हुन अपिल गरेका छन्। 'कसको घरमा चुलो बल्न बन्द हुनलाग्यो छातीमा हात राखेर नढाँटीकन स्थानीय सरकारलाई खबर दिई सहयोग गर्नुहोला हामी स्थानीय सरकारका प्रतिनिधि त्यहाँ पुग्छौ', उनले भने। अध्यक्ष मोक्तानले गाउँघरमा थुप्रै रैथाने चिजबिजहरु खाएरसमेत बाँच्न सकिने भन्दै पोका बाँडेर आफूलाई भगवान बनाउन खोज्नेको राहत अस्वीकार गर्न अनुरोध गरेका छन्।
मोक्तानले 'गाउँमा खोले, सिस्नु, गिठ्ठा, भ्याकुर, कर्कलो, निउरो, टाकीको साग, कोइरालाको पूmल, सिफ्लिगान, केराको बुङ्गो, वनतरुल, पिडालु, सिमलतरुल, पुतलीतरुल, चुइया र यस्तै अन्य नानाथरि प्रकृतिले उपलब्ध गराएको मौसमी चिजबिज खाएर बाँचिरहेका हामी नेपालीलाई वनमान्छे देख्ने र दयाको पात्र सम्झने आफूले आफूलाई भगवान देखाउन सेतो चामलको बोरा बाँड्न आउनेहरुमाथि नै मनोदशारुपी कोभिड–१९ को भयानाक आक्रमण देखियो। मानवीयताको हिसाबले सहयोग गर्ने यतिखेर नै हो, हामी–हामीबीचमै सहयोग आदनप्रदान गर्न सकिन्छ, जे छ बाँडेर खाना सकिन्छ। यो सङ्कटको बेलामा वल्लोपल्लो घरबाट एैचोपैचो चलाउँ, जिउँदाको जन्ती मर्दाको मलामी तपाईं हामी नै हौँ।' भनेका छन्।