न्याय सम्पादनमा राजनीतिक स्वार्थ देखिनहुन्नः मुख्यमन्त्री कार्की
सेवाग्राहीले औंला नठड्याउने गरी गर्ने फैसला सर्वमान्य हुने भएकाले अदालत जाने मुद्दा त्यहींबाट टुङ्गिने र जनताको खर्च पनि कम हुने भएकाले यसतर्फ सचेत रहन उनको सुझाव थियो।
झापा, असार १८ : कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले न्यायिक समितिले सम्पादन गरेको फैसलामा राजनीतिक स्वार्थ देखिन नहुने बताएका छन्।
प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, झापा एवं स्थानीय शासन सहयोग कार्यक्रमद्वारा संयुक्त रुपमा आयोजित न्यायिक समितिको प्रदेशस्तरीय तीन दिने कार्यशाला÷सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले जनतालाई न्याय दिने सवालमा राजनीतिक प्रतिनिधि भए पनि फैसलामा राजनीतिक गन्ध आउन नदिन सचेत हुनुपर्नेमा जोड र्दिए।
‘तपाईंको फैसलाले न्यायिक समितिको विश्वास बढ्छ, त्यसैले कुनै पनि मुद्दाको फैसला नेपालको संविधान र कानुनअनुसार गर्नुहोला,’ उनले भने।
सेवाग्राहीले औंला नठड्याउने गरी गर्ने फैसला सर्वमान्य हुने भएकाले अदालत जाने मुद्दा त्यहींबाट टुङ्गिने र जनताको खर्च पनि कम हुने भएकाले यसतर्फ सचेत रहन उनको सुझाव थियो।
आर्थिक रुपमा हामी अहिले सङ्कुचनमा परेपनि न्यायिक समितिलाई बलियो तथा सुदृढ बनाउन प्रदेश सरकार सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उनले स्थानीय तहमा आउने विवाद र मुद्दाको सही फैसलाले जनतालाई जोड्न अझ सहज हुने बताए।
सबै भन्दाबढी सेवा लिने ठाउँ स्थानीय तह भएकाले यो तहलाई बलियो बनाउनु आजको आवश्यकता भएको उनको भनाइ थियो। उनले भने, ‘आजको कार्यशालाले न्यायिक समितिलाई अझ प्रभावकारी बनाउन मद्दत गर्दछ।’