मध्यमर्स्याङ्दी–दमौली–मर्स्याङ्दी प्रसारण लाइन संचालन
काठमाडौं, फागुन १५ : मध्यमर्स्याङ्दी–दमौली–मर्स्याङ्दी १३२ केभी डबल सर्किट प्रसारण लाइन संचालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले २२ किल....

काठमाडौं, फागुन १५ : मध्यमर्स्याङ्दी–दमौली–मर्स्याङ्दी १३२ केभी डबल सर्किट प्रसारण लाइन संचालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले २२ किलोमिटर प्रसारण लाइनको निर्माण सम्पन्न गरी सोमबारबाट संचालन (चार्ज)मा ल्याएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो प्रसारण लाइन संचालनमा आएसँगै समग्र प्रसारण प्रणालीको चुहावट घट्ने र प्रणालीको विश्वसनीयता बढ्ने बताए । “मध्यमर्स्याङ्दी–मर्स्याङ्दी प्रसारण लाइन ओभरलोड हुँदा लमजुङस्थित निजी क्षेत्रका जलविद्युत आयोजनाबाट बर्खामा उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न नसकी खेर जाने सम्भावना थियो अब मध्यमर्स्याङ्दी–दमौली–मर्स्याङ्दी लाइन संचालनमा आएसँगै विद्युत खेर जाने सम्भावनाको अन्त्य भएको छ,” उनले भने ।
मर्स्याङ्दी–काठमाडौं र मर्स्याङ्दी–भरतपुर प्रसारण लाइनमा फल्ट आउँदा प्राधिकरणका मध्यमर्स्याङ्दी, मर्स्याङ्दीसहित निजी क्षेत्रका आयोजनाको विद्युत प्रवाह गर्न नसक्ने अवस्था रहेको थियो । अब यसको पनि अन्त्य भएको प्राधिरणले जनाएको छ । ती आयोजनाको विद्युतदमौली सबस्टेसनमार्फत भरतपुर र पोखरातर्फ पठाउन सकिने भएको कार्यकारी निर्देशक घिसिङले भने ।
निजी क्षेत्रले लमजुङमा निर्माण गरेका आयोजनाको करिब ६६ मेगावाट विद्युत र प्राधिकरणको स्वामित्वमा रहेका मध्यमस्र्याङ्दी ७० मेगावाट तथा तल्लो मर्स्याङ्दी ६९ मेगावाट गरी दुई सय पाँच मेगावाट विद्युत् मध्यमर्स्याङ्दी–मर्स्याङ्दी प्रसारण लाइन हुँदै काठमाडौं र चितवको भरतपुरतर्फ प्रवाह हुँदै आएको छ ।
मध्यमर्स्याङ्दी–दमौली–मर्स्याङ्दी लाइन संचालनमा आएपछि ती केन्द्रबाट उत्पादित विद्युत्लाई पोखरा र भारतपुरतर्फ पठाउन सकिने आयोजना प्रमुख शुभारम्भ विक्रम शाहले बताए । उनले दमौली सबस्टेसनबाट दमौली– लेखनाथ र दमौली–भरतपुर प्रसारण लाइनमार्फत क्रमश: पोखरा र दमौली–भरतपुरतर्फ विद्युत् पठाउन सकिने बताए ।
“यही आयोजनाअन्तर्गत तनहुँको मार्कीचोकमा निर्माण भइरहेको १३२÷३३ केभी सब स्टेसन केही दिनमै संचालनमा ल्याउँदैछौ,” आयोजना प्रमुख शाहले भने, “मर्स्याङ्दी, दमौली र मध्यमर्स्याङ्दी सबस्टेसनमा बे पनि थपेका छौं, मध्यमर्स्याङ्दीमा थपिएको यसबाट लमजुङको दोर्दी करिडोरमा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाको विद्युत पनि राष्ट्रिय प्रणालीमा जोड्न सकिने छ ।”











-1754206481.jpg)