अनुयायीलाई तर्साएर डलर उठाउने धर्मगुरु १० वर्ष जेल चलान
काठमाडौं, ६ असारः सिंगापुरका एक धर्मगुरुलाई आफ्ना अनुयायीहरूबाट करोडौं डलर ठगी गरेको आरोपमा १० वर्ष जेल सजाय दिइएको छ। ठगीको पोल खोल्दिने शंका लागेका अनुयायीलाई अनुशासनका नाममा हिंस्रक सजाय दिएकोे अभियोग पनि उनी माथि लागेको थियो।
सिंगापुरस्थित च्यानल न्यूज एशिया (सीएनए)का अनुसार वू मे हो नाम गरेकी ५४ वर्षीय धर्म गुरुलाई साढे १० वर्षको जेल सजाय सुनाइएको छ। धार्मिक पन्थका नाममा धन बटुल्ने अवैध व्यवसाय गरेको वित्तीय अपराधमा उनलाई यस्तो सजाय दिइएको हो।
वूले करिब ३० जना अनुयायीहरूलाई आफूलाई देवता मान्ने विश्वास दिलाए र उनीहरूलाई केही वर्षदेखि १० मिलियन डलरभन्दा बढी ठगी गरेको पुष्टि भएको स्थानीय अदालतमा उपलब्ध कागजातहरूले प्रष्ट पारेको समाचारमा जनाइएको छ।
धर्म गुरु वूले भने गलत क्रियाकलापमा परेका आफ्ना अनुयायीहरूलाई सुधार्न ससानो आर्थिक दायित्व लगाएको स्वीकार गरेका छन्। उनीहरूबाट उठाइएको रकम भारतमा रहेको श्री शक्ति नारायणी अम्मा भनिने अर्की धर्म गुरुलाई पठाइएको बताइएको छ। भारतमा उनको संस्थाले सो रकम नयाँ मन्दिर निर्माणका लागि प्रयोग गर्ने जनाएको अदालतलाई उदृत गर्दैै समाचारमा उल्लेख गरिएको छ।
धर्म गुरु वुले आफ्ना अनुयायीहरूलाई दण्ड दिने नाममा तातो चिम्टाले उनीहरुको दाँत तान्ने र आफ्नै दिसा खान वाध्य बनाउने लगायतका क्रूर सजाय दिने गरेको पाइएको छ।
‘अभियुक्तको कार्यले उनका अनुयायीहरूको जीवनलाई पूर्ण रूपमा चकनाचूर पारेको छ, उनीहरूलाई गम्भीर आर्थिक परिस्थितिमा छोडेको छ र कतिपयलाई स्थायी शारीरिक अपांगता समेत भएको छ,’ अभियोजनकर्ताहरूले अदालतमा आफ्नो पक्ष प्रस्तुत गर्दा भनेका छन्।
यसअघि सन् २०२० मा सिंगापुर पुलिसले दक्षिण कोरियाको शिन्चेन्जी चर्च अफ जीससको स्थानीय शाखाका २१ सदस्यहरूलाई पक्राउ गरेको थियो। उनीहरुलाई गैरकानूनी समाजको सदस्य भएको भन्दै पक्राउ गरिएको हो। सिंगापुरको कानुनअनुसार गैरकानूनी समाजको सदस्य भएको आरोपमा दोषी ठहरिए तीन वर्षसम्मको जेल सजाय र ३७०० डलरसम्म जरिवाना हुन सक्छ।