Kathmandu Press

सरकारले आइटीको विकास र विसतारमा जोड दिएको छ : अर्थमन्त्री

उनले नेपालको कृषि, पर्यटन, जलविद्युत र उद्योगका केही क्षेत्रसँगै पछिल्लो समय आईटी क्षेत्रले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने महत्पूर्ण र राम्रा आधारहरु देखाएको प्रष्ट पारे।
सरकारले आइटीको विकास र विसतारमा जोड दिएको छ : अर्थमन्त्री

काठमाडौं, असार १ : अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधि (आईटी) क्षेत्रमा विश्वमा उदाइरहेको आर्टिफिसियल इन्टेलिजेन्सको नयाँ विषयलाई सरकारले खुला रुपले स्वीकारेर प्रयोगको वातावरण बनाउन तयार रहेको बताएका छन्।  

शनिबार ललितपुरमा आयोजित पहिलो राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन –२०२४ को उद्घाटन गर्दै मन्त्री पुनले नेपालको सूचना प्रविधि क्षेत्रले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने राम्रा र महत्वपूर्ण आधारहरु रहेको उल्लेख गर्दै सरकारले यो क्षेत्रको विकास र विस्तारलाई जोड दिएको बताए।

‘गएको वर्ष ६६ अर्बको आईटी क्षेत्रले सेवा निर्यात गरेको छ, यो वर्ष त्यो सेवा १ खर्ब नाघ्ने अनुमान छ। यो क्षेत्र हामीले प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र हो,’ उनले भने, ‘हामी कृषि, पर्यटन, जलविद्युत र उद्योगका केही क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र भनेर भन्ने गर्दथ्यौं । तर, सबभन्दा पछिल्लो क्षेत्र आईटी भएको छ।’

Hardik ivf

उनले आइटीमा राम्रो प्रतिस्पर्धा गर्न सक्ने आधार भूअवस्थितिले गर्दा देखिएको बताए। उनले नेपालको कृषि, पर्यटन, जलविद्युत र उद्योगका केही क्षेत्रसँगै पछिल्लो समय आईटी क्षेत्रले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने महत्पूर्ण र राम्रा आधारहरु देखाएको प्रष्ट पारे।

मन्त्री पुनले सरकार आर्टिफिसियल इन्टेलिजेन्सको नयाँ विषयलाई नीतिगत रुपमा अगाडि बढाउन तयार रहेको उल्लेख गरे।

‘आर्टिफिसियल इन्टेलिजेन्सको नयाँ विषय छ। यसबारे हुने छलफलबाट सरकारलाई समेत काम लाग्ने उपयोगी नीतिगत प्रतिक्रिया हामीलाई दिनुहुने छ भन्ने विश्वास छ,’ उनले भने, ‘जसलाई सरकार खुला रुपले स्वीकार गर्न, प्रयोग गर्न र यस क्षत्रको लागि वातावरण बनाउन तयार छ।’

उनले आर्टिफिसियल इन्टेलिजेन्सको नयाँ विषयलाई सूचना प्रविधिको विकास र विस्तारसँगै विकासको सहयोगीको रुपमा लिएर यस क्षेत्रसँग नयाँ पुस्तालाई जोड्ने गरी आर्थिक विकासको अवधारणा ल्याउनुपर्नेमा जोड दिए।

सूचना प्रविधिलाई विकासँग नजोडे युवा देशमा नबस्ने र विकासले विश्वसँग प्रतिस्पर्धा गर्न नसक्ने ठम्याइँ मन्त्री पुनको छ।

 

प्रकाशित मिति: १२:५३ बजे, शनिबार, असार १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्