Kathmandu Press

प्राधिकरणले सञ्चालनमा ल्यायो अत्याधुनिक ‘डेटा सेन्टर’

डेटा सेन्टरमा प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भरलगायत सबै डेटाहरु एकीकृत भण्डार गरी क्रमशः राखिने कार्यकारी निर्देशक घिसिङले बताए। उनले डेटा सेन्टर सञ्चालनमा आएसँगै प्राधिकरणले डेटा भण्डारणका लागि आफ्नो छुट्टै ‘प्राइभेट क्लाउड’ बनाउन लागिरहेको जानकारी दिए।
प्राधिकरणले सञ्चालनमा ल्यायो अत्याधुनिक ‘डेटा सेन्टर’

काठमाडौं जेठ ३० : नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक ‘डेटा सेन्टर’ सञ्चालनमा ल्याएको छ।

प्राधिकरणले भविष्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सक्नेगरी काठमाडौंको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको डेटा सेन्टर सञ्चालनमा ल्याएको हो।

‘प्रि फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिएको तीन तला भवनको माथिल्लो तलामा डेटा सेन्टर छ।
 
डेटा सेन्टरका लागि तोकिएको ‘टियर–३’ अन्तर्राष्ट्रिय मापदण्डलाई पालना गरी उक्त सेन्टर निर्माण गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। उनका अनुसार प्राधिकरणले आफ्नो सेवालाई आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न डिजिटल एनइए कार्यक्रमअन्तर्गत निर्माण गरेको यस किसिमको नमुना ‘डेटा सेन्टर’ नेपालमै पहिलो हो।

Hardik ivf

डेटा सेन्टरमा प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भरलगायत सबै डेटाहरु एकीकृत भण्डार गरी क्रमशः राखिने कार्यकारी निर्देशक घिसिङले बताए। उनले डेटा सेन्टर सञ्चालनमा आएसँगै प्राधिकरणले डेटा भण्डारणका लागि आफ्नो छुट्टै ‘प्राइभेट क्लाउड’ बनाउन लागिरहेको जानकारी दिए।

कार्यकारी निर्देशक घिसिङले डेटा सुरक्षाका लागि नवलपरासीको सुनवलस्थित नयाँ बुटवल सबस्टेसनमा विपद् रिकभरी सेन्टर निर्माण गर्ने प्रक्रिया अगाडि बढेको उल्लेख गरे।

रिकभरी सेन्टर निर्माण नहुन्जेल हाल प्राधिकरणको प्रधान कार्यालयमा रहेको पुरानो डेटा सेन्टरलाई रिकभरी सेन्टरका रुपमा सञ्चालन गरिने छ।

सञ्चालनमा ल्याइएको नयाँ डेटा सेन्टरमा ४० वटा सूचना प्रविधि कक्ष रहेका छ। तीमध्ये ३६ सर्भर र चार वटा नेटवर्क कक्ष प्राधिकरणले जनाएको छ।

टियर ३ मापदण्डका लागि तोकिएका सर्तहरु पूरा गर्न आवश्यक व्याकप (सञ्चित)सहितको अविच्छिन्न विद्युत् आपूर्ति (एन प्लस वान पावर सप्लाई), चिस्यान (कुलिङ), स्वचालित अग्नि नियन्त्रण, सिसिटिभी निगरानी, सञ्चालन तथा सुरक्षाको निगरानीलगायत व्यवस्था गरिएको छ।

स्थानीय तथा मुलुकको विद्युत् प्रणालीमा समस्या आएर विद्युत् आपूर्ति बन्द भएमा डेटा सेन्टरलाई सुरक्षित रुपमा सञ्चालन गर्न एक मेगावाट क्षमताका दुईवटा जेनेरेटर तयारी अवस्थामा राखिएको कार्यकारी निर्देशक घिसिङले बताए।

३ सय केभिए क्षमताका दुई थान मोड्युलर युपिएस जडान गरिएको छ। युपिएसको विश्वसनीयतालाई ध्यान दिएर लिथियम आयन ब्याट्री प्रयोग गरिएको भन्दै मर्मत सम्भार तथा उपकरण प्रतिस्थापन गर्दा सेन्टरलाई बन्द गर्नु नपर्ने उनको भनाइ छ।

प्रकाशित मिति: १३:०१ बजे, बुधबार, जेठ ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्