गैडा टाइम्सदेखि गर्भ छिटासम्मः काठमाडौंमा जताततै नाटक (तालिकासहित)
काठमाडौं, फागुन १५ : के तपाईं अहिले काठमाडौंमा हुनुहुन्छ ? के तपाईंलाई दिउँसो वा साँझतिर फुर्सद छ ? काठमाडौंमा अहिले अन्तर्राष्ट्रिय नाट्य महोत्स....

काठमाडौं, फागुन १५ : के तपाईं अहिले काठमाडौंमा हुनुहुन्छ ? के तपाईंलाई दिउँसो वा साँझतिर फुर्सद छ ? काठमाडौंमा अहिले अन्तर्राष्ट्रिय नाट्य महोत्सव चलिरहेको छ, जसमा सहभागी भई तपाईंले नेपाल लगायत विभिन्न देशका नाटकको स्वाद लिन सक्नु हुनेछ ।
आउँदो सोमबारसम्म चल्ने यो महोत्सव अन्तर्गत काठमाडौंको कुनै एउटा निश्चित थिएटरमा मात्रै नाटकहरू मञ्चन भइरहेका छैनन् । एकैपटक विभिन्न थिएटरमा र फरक–फरक समयमा नाटकहरू प्रस्तुत भइरहेका छन् । यसैले, आफ्नो फुर्सदमा र आफूलाई पायक पर्ने ठाउँमा नाटक हेरी महोत्सवको मज्जा लिन सक्नुहुनेछ ।
मण्डला थिएटर, शिल्पी थिएटर, एक्टर्स स्टुडियो, थिएटर भिलेज, थिएटर मल, कथा घेरा र वान वल्ड थिएटरको संयुक्त आयोजनामा भइरहेको यो महोत्सवको उद्घाटन गत सोमबार नै भएको थियो । यो ८ दिने महोत्सवमा विभिन्न देशका ३० नाटक मञ्चन हुँदैछन् ।

नेपाल र छिमेकी राष्ट्र भारतबाहेक डेनमार्क, बंगलादेश, इटली, मेसिडोनिया र नर्वेका नाटकहरू पनि मञ्चन हुँदैछन् । नेपालबाट १३ वटा नाटक मञ्चन हुँदैछन्, जसमध्ये दुई नाटक मंगलबार नै मञ्चन भइसके ।
मंगलबार कीर्तिपुर थिएटरमा दिउँसो १ बजे निर्देशक केदार श्रेष्ठको भोका घर नाटक मञ्चन गरिएको थियो । काठमाडौंको थिएटर मलको उक्त नाटकले एक गरिब परिवारको संघर्षको कथा भन्छ ।
मंगलबार नै दिउँसो ३ बजे निर्देशक प्रियंका झाको जनकपुरको लोक सञ्चार समूहबाट कौशी थिएटरमा नाटक मञ्चन गरिएको हो । किशोरीहरुको जीवनमा आधारित नाटकको शीर्षक थियो– किशोरी ।
कहाँ–कहाँ कुन–कुन नेपाली नाटक मञ्चन हुँदैछन् त ?
बुधबार (फागुन १५)
महोत्सवको तेस्रो दिन आज बुधबार कौशी थिएटरमा दिउँसो ३ बजे च्याप्टर कन्फेसन : माई फादर इज अ मर्डरर शीर्षकको नाटक मञ्चन हुँदैछ । यो नाटकलाई पत्रिका घिमिरेको निर्देशनमा फ्रिल्यान्सर समूहले तयार पारेको हो ।
बिहीबार (फागुन १६)
मेमोरी यार्ड शीर्षकको नाटक कौशी थिएटरमा दिउँसोे ३ बजे मञ्चन हुँदैछ । जसलाई गार्डेन थिएटरका निर्देशक चे शकंरले तयार पारेका हुन् ।
यही दिने माङ्गेना शीर्षकको अर्को नेपाली नाटक मण्डला थिएटरमा साँझ ६ बजे मञ्चन हुँदैछ । यसका निर्देशक हुन्, चेतन आङ्थुपो । यसलाई चुलाचुली थिएटर इलामले प्रस्तुत गर्न लागेको छ । यो लिम्बू जातिको सँस्कृतिमा आधारित छ ।
शुक्रबार (फागुन १७)
कीर्तिपुर थिएटरमा दिउँसो १ बजे सिजन दाहालको निर्देशनमा तयार पारिएको गैंडा टाइम्स नाटक मञ्चन हुँदैछ । यो नाटक झापाको कदम थिएटरबाट तयार पारिएको हो ।
यही दिन निर्देशक एलिज बियानिकको निर्देशनमा शालिस पर्फमिङ आर्टद्वारा तयार पारिएको हिप हप कोपेलिया शीर्षकको नाटक पनि मञ्चन हुँदैछ । यो नाटक दिउँसो ४:३० बजे गोठाले थिएटरमा मञ्चन हुँदैछ ।
शनिबार (फागुन १८)
यो दिन तीन नेपाली नाटक मञ्चन हुँदैछन् ।
सोलुखुम्बु नेपालको सगरमाथा नाट्य समूहद्वारा तयार पारिएको आरन नाटक दिउँसो १ बजे कीर्तिपुर थिएटरमा मञ्चन हुँदैछ । यसलाई युवराज शर्माले निर्देशन गरेका हुन् ।
पाँच शीर्षकको अर्को नेपाली नाटकका निर्देशक सुदम सीके हुन् । कथा घर समूहले तयार पारेको यो नाटक कौशी थिएटरमा दिउँसो ३ बजे मञ्चन गरिनेछ ।
मण्डला थिएटरमा साँझ ६ः३० मा किरण चाम्लिङ राईको निर्देशनमा तयार पारिएको जोखना नामक नाटक मञ्चन हुँदैछ । यसलाई नेपालकै फ्रिलान्सर समूहले तयार पारेको हो ।
सोमबार (फागुन २०)
आइतबार कुनै नेपाली नाटक छैन, तर महोत्सवको अन्तिम दिन अर्थात् सोमबार ३ नेपाली नाटक मञ्चन हुँदैछन् ।
दिउँसो १ बजे कीर्तिपुर थिएटरमा गर्भ छिटा नामक नाटक मञ्चन हुने छ । मुगुको कर्णाली थिएटरबाट हिरा बिजुली नेपालीले सो नाटक निर्देशन गरेका हुन् ।
दिउँसोे ४ बजे गोठाले थिएटरमा मोक्षडा शीर्षकको नाटक मञ्चन हुँदैछ । सो नाटक ऐस्थेटिक डान्स स्टुडियोबाट निर्देशक नम्रता केसीले तयार पारेका हुन् ।
अन्तिम नाटकको रुपमा निर्देशक स्याबिन लेह्म्यानले स्टुडियो ७ सँगको सहकार्यमा तयार पारेको आर्ट मञ्चन गरिनेछ । यो नाटक नागा थिएटरमा बेलुकीको ७ः३० बजे मञ्चन हुनेछ ।












-(7)-1765197040.jpg)