नेपालको विश्वकप खेल टुँडिखेलसहित काठमाडौंका तीन ठाउँमा निःशुल्क प्रत्यक्ष प्रसारण गरिने
काठमाडौं, जेठ २२ः काठमाडौं महानगरपालिकाले टी–२० विश्वकपअन्तर्गत मंगलबार राति हुने नेपाल र नेदरल्याण्ड्सबीचको खेल तीन ठाउँबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ। महानगरले काठमाडौंको टुँडिखेल, हाँडीगाउँ र तीनकुनेमा ठूलो पर्दामा प्रत्यक्ष प्रसारण हेर्न मिल्ने व्यवस्था गरेको हो।
टुँडिखेलमा ३० बाई १८ फिटको एलईडी स्क्रिन राखेर नेपालको खेल लाइभ देखाउने महानगरले जनाएको छ। ओपन डोर्स इन्टरटेनमेन्टको सहआयोजना र खेलकुद मन्त्रालयसँगको सहकार्यमा महानगरपालिकाले खेलप्रेमीहरुका लागि ठूलो पर्दामा लाइभ देखाउन लागेको हो।
टुँडिखेलमा हुने प्रत्यक्ष प्रसारणमा मेयर बालेन शाह पनि सहभागी हुने ओपन डोर इन्टरटेनमेन्टले जनाएको छ। टुँडिखेलमा खेल सुरु हुनुअगाडि इन्दिरा जोशी, रचना रिमाल, महेश काफ्ले र ब्योमा अधिकारीको सांगीतिक प्रस्तुति रहने महानगरले जनाएको छ।
टुँडिखेलमा खाजा र खानाको स्टल समेत राखिने छ। ९ः १५ देखि हुने खेलका लागि महानगरपालिकाले अपरान्हदेखि नै गेट खुला गरिसकेको छ।
टुँडिखेलमा महानगरले कन्सर्टको लागि आवश्यक पर्ने स्टेज, लाइट र स्टलको व्यवस्थापन गरिसकेको छ। यस्तै तीनकुने र हाँडिगाउँमा पनि लाइभ देखाउने तयारी भइसकेको छ। यी कुनै पनि ठाउँमा नेपालको खेल हेरेको शुल्क लाग्ने छैन।
काठमाडौं महानगरका अनुसार मंगलबार हुने खेल र त्यसको प्रत्यक्ष प्रसारणबारे स्थानीय प्रशासन, प्रहरीलाई खबर गरिसकेको छ भने प्रत्यक्ष प्रसारण हुने स्थानमा महानगरको नगर प्रहरी बलले थप सुरक्षा दिने जनाएको छ।