श्रीलंकामा मनसुनी आँधीबाट २६ जनाको मृत्यु

काठमाडौं, जेठ २२ः श्रीलंकामा भारी मनसुनी वर्षा र पहिरोबाट कम्तीमा २६ जनाको मृत्यु भएको छ। सरकारले मंगलबार सेनालाई बाढी र पहिरोबाट विस्थापित हजारौंलाई सहयोग गर्न आदेश दिएको छ।
मनसुनी वर्षा र पहिरोमा परी ४२ जना घाइते भएको र मुलुकका २५ मध्ये २३ जिल्लामा बाढीबाट एक लाख ३० हजार मानिस घरबारविहीन हुनुपरेको कनिष्ठ रक्षामन्त्री प्रेमिता तेनाकुनले संसद्लाई जानकारी दिइन्।
‘हामीले राहत कार्यमा सहयोग गर्न सेना परिचालन गरेका छौं,’ उनले भनिन्, ‘राहतको आपूर्तिमा सहयोग गर्न डुंगाहरू तैनाथ गरिएको छ।’
श्रीलंका सिँचाइ र जलविद्युतका लागि मौसमी मनसुनी वर्षामा निर्भर छ। विज्ञहरूले जलवायु परिवर्तनका कारण विश्वमा गर्मी बढेकाले मुलुकले बारम्बार बाढीको सामना गर्नुपरेको चेतावनी दिएका छन्।
श्रीलंकाको प्रमुख मौसम ब्युरोले वर्षा कम हुने पूर्वानुमान गरेको छ तर बाढीको खतरा कम नभएको बताएको छ। तराईका क्षेत्रहरू जलमग्न भएका छन्।
थप वर्षाको सम्भावना रहेकाले सरकारले साताको विदापछि सोमबार पनि सबै विद्यालय बन्द गर्न निर्देशन दिएको थियो र सबैभन्दा नराम्ररी प्रभावित दक्षिणी प्रान्तमा धेरै विद्यालय मंगलबार पनि बन्द भएका छन्।












-1763799581.jpg)