पपुवा न्युगिनीमा पहिरो, २ हजार मानिस पुरिए, ६७० भन्दा बढीको मृत्यु भएको आशंका
संयुक्त राष्ट्रसंघीय आप्रवासन निकायका प्रमुख सेर्हान अक्टोप्राकले १५० भन्दा बढी घर ६ देखि आठ मिटर गहिरो भग्नावशेषमा पुरिएको र ६ सय ७० भन्दा बढीले ज्यान गुमाएको हुन सक्ने बताए।पाेर्ट अफ माेरेस्बी, जेठ १४ : पपुवा न्युगिनीमा गएको भीषण पहिरोमा परी मृत्यु हुनेको संख्या ६ सय ७० नाघेको बताइएको छ।
पपुवा न्युगिनीको राजधानी पोर्ट मोरेस्बीबाट ६ सय किलोमिटर उत्तरपश्चिममा रहेको एंगा प्रान्तको दुर्गम क्षेत्रमा स्थानीय समयअनुसार शुक्रबार बिहान करिब ३ बजे भीषण पहिरो गएको थियो।
सो पहिरोमा २ हजार बढी मानिस पुरिएको भन्दै त्यसको सरकारले अन्तर्राष्ट्रिय समुदायलाई सहयोगका लागि अपिल गरेको छ।
प्रशान्त महासागरीय टापुका लागि संयुक्त राष्ट्रसंघीय आप्रवासन निकायका प्रमुख सेर्हान अक्टोप्राकका अनुसार यसको प्रभाव सुरुमा सोचेभन्दा निकै ठूलो देखिएको छ।
उनले १५० भन्दा बढी घर ६ देखि आठ मिटर गहिरो भग्नावशेषमा पुरिएको र ६ सय ७० भन्दा बढीले ज्यान गुमाएको हुन सक्ने बताए।
एंगा प्रान्तको विपत् क्षेत्र वरपरको क्षेत्र पनि जोखिमपूर्ण रहेको र लगातार पहिरो खसेका कारण करिब एक हजार दुई सय ५० जनालाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्।
पपुवा न्युगिनीस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले शनिबार एक विज्ञप्ति जारी गर्दै एंगा प्रान्तको लगाइप पोर्गेरा जिल्लामा पीडित र उनीहरूका परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ। उद्धारको कार्य पनि भइरहेको राष्ट्रसंघले जनाएको छ।