पनौती नगरपालिकाको वडा नं. ४ बालश्रममुक्त वडा घोषणा
नगरपालिकाले बालमैत्री स्थानीय तह घोषणा कार्यविधी, २०७८ अनुसार पुरा गर्नुपर्ने ५१ सूचक पुरा गरेका वडाहरुलाई बालश्रम मुक्त वडा घोषणा गरेको बताएको छ।काभ्रे, जेठ १३ : पनौती नगरपालिकाले वडा नं. ४ लाई बालश्रममुक्त वडा घोषणा गरेको छ। एक कार्यक्रमका बीच नगरका प्रमुख रामशरण भण्डारीले बालश्रममुक्त वडा भनि घोषणा गरेका हुन्।
नगरका १२ वडा मध्ये वडा नं. ४ बालश्रममुक्त वडा घोषणा भएको १०औं वडा हो। नगरपालिकाले बालमैत्री स्थानीय तह घोषणा कार्यविधी, २०७८ अनुसार पुरा गर्नुपर्ने ५१ सूचक पुरा गरेका वडाहरुलाई बालश्रम मुक्त वडा घोषणा गरेको बताएको छ।
यसअघि पनौतीका ९ वटा वडाहरु बालश्रममुक्त वडा भनी घोषणा भइसकेका छन्। बाँकीरहेको २ वटा वडालाई पनि घोषणा गर्ने प्रक्रियामा अगाडि बढाइएको नगरपालिकाले जानकारी दिएको छ।
आज वडा कार्यालयको हलमा भएको कार्यक्रमका प्रमुख अतिथि अर्थात नगर प्रमुख रामशरण भण्डारीले बालश्रममुक्त वडा घोषणा गर्न सहयोग गर्नुहुने सम्पुर्ण व्यवसायी, बिद्यालय, सामाजिक अभियान्ता, बाल क्लब, जनप्रतिनिधि , सहजकर्ताहरुमा धन्यवाद व्यक्त गरेका छन्।
उनले छिट्टै नै नगरलाई नै बालश्रममुक्त घोषणा गर्ने र यसको दिगोपनको लागि नगरले योजना बनाएको पनि बताएका छन्। उनले बालबालिकाको क्षेत्रमा निरन्तर बजेट व्यवस्थापन गर्दै उनिहरुको शारीरिक र मानसिक वृद्धि र बिकासको लागि नगर लागिपर्ने पनि बताएका छन्।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख गीता बन्जाराले पनौती नगरले आफ्नै लगानी र श्रोत प्रयोग गरेर ५१ वटा सुचक पुरागर्न सफल भएको बताइन्। उनले आज वडा नं. ४ बालश्रममुक्त घोषणा भएको छ, यसलाई सबैले अपनत्व लिइ आगामी दिनमा बालबालिकालाई बालश्रममा नलगाउन र कसैले लगाएमा खबरदारी गर्न समेत आग्रह गरिन्।
वडा नं. ४ का वडाध्यक्ष दिपकप्रसाद दाहालले हामी सबै मिलेर अगाडि बढ्यौं भने मात्रै आगामी दिनमा पनि यस वडालाई बालश्रम मुक्त देख्न सकिने धारणा राखे। बालबालिकामाथि श्रम र हिंसा गर्ने मानिसले समाजको लागि केही गर्न नसक्ने धारणा पनि उनको थियो।
कार्यक्रममा बालश्रम नगर्ने भनी सामुहिक प्रतिबद्धता समेत गरिएको थियो। कार्यक्रममा २८ वटा उद्योगी व्यवसायीलाई बालश्रममुक्त वडा घोषणा गर्न सहयोग गरेको भन्दै सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो। त्यस्तैगरि वडा भित्रका सबै बिद्यालय, स्वास्थ चौकी, प्रहरी चौकी, स्वयंसेवीका, पत्रकार , लगाएतकालाई पनि अभियानमा सहयोग पुर्याएको भन्दै सम्मान गरेको थियो।
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी भाइबहिनीहरुले बालश्रम सम्बन्धि नाटक नृत्य तथा गीत प्रस्तुत गरेका थिए।