Kathmandu Press

अर्मेनियाले कब्जा गरेको चारवटा सीमावर्ती गाउँ अजरबैजानलाई फिर्ता

अर्मेनियाले कब्जा गरेको चारवटा सीमावर्ती गाउँ अजरबैजानलाई फिर्ता

काठमाडौं, जेठ ११ः अर्मेनियाले दशकौं पहिले कब्जा गरेको बघानिस आयरम, असागी अस्किपारा, खेरिम्ली र घिजिलहाजिलीका चार सीमावर्ती गाउँहरू अजरबैजानलाई फिर्ता गरेको शुक्रबार दुवै देशले पुष्टि गरेका छन्।

यो ऐतिहासिक प्रतिद्वन्द्वीबीचको सम्बन्ध सामान्यीकरणतर्फ महत्वपूर्ण कदम हो। अर्मेनियामा लामो विद्रोह निम्त्याएको सो कब्जापछि रूस र पश्चिमी देशहरूको मध्यस्थतामा वर्षौंको निष्फल वार्तापछि अहिले भूभाग फिर्ता गरिनुले व्यापक शान्ति सम्झौतामा पुग्ने दिशामा महत्वपूर्ण कदमको प्रतिनिधित्व गर्दछ।

दुई देशले नागोर्नो–काराबाखको विभाजित क्षेत्र नियन्त्रणका लागि सन् १९९० र सन् २०२० गरी दुईवटा युद्ध लडेका थिए। अजरबैजानले गत वर्ष एकाएक आक्रमण गरी यो क्षेत्रलाई पुनः कब्जा गरेको थियो। आक्रमणपछि एक लाख भन्दा बढी स्थानीयहरु आर्मेनियातर्फ भाग्न बाध्य भएका थिए भने तीन दशकको अर्मेनियाली अलगाववादी शासनको अन्त्य भएको थियो।

Hardik ivf

अर्मेनियाको उच्च सुरक्षा अधिकारीले हालैको सीमा सीमाङ्कन सम्झौतालाई प्रतिबिम्बित गर्दै यस क्षेत्रमा खटिएका सीमा रक्षकहरु देशको पूर्वमा स्थानान्तरण गरिएको र  गाउँहरूलाई अजरबैजानको नियन्त्रणमा दिएको शुक्रबार पुष्टि गरेका छन्। त्यसैगरी, अजरबैजानका उपप्रधानमन्त्री शाहिन मुस्तफायेभले आफ्नो देशको सीमा रक्षकहरूले चारवटा बस्तीहरूको नियन्त्रण लिएको छुट्टै घोषणा गरे।

अर्मेनियाका प्रधानमन्त्री निकोल पसिन्यानले मार्चमा स्थायी शान्ति सम्झौता सुरक्षित गर्ने प्रयासको एक हिस्साको रूपमा सन् १९९० को दशकमा कब्जा गरिएका चार गाउँहरू फिर्ता गर्न सहमत भएका थिए। दुई देशहरूबीच यस महिनाको सुरुमा उनीहरूको सिमानाको १२.७ किलोमिटरको नयाँ सीमांकनमा सहमति भएको थियो। सोही अनुसार बघानिस आयरम, असागी अस्किपारा, खेरिम्ली र घिजिलहाजिली गाउँहरू अजरबैजानलाई फिर्ता गरिएको हो।

पसिन्यानले यो सम्झौतालाई अर्मेनियाको सार्वभौमसत्ताका लागि धेरै महत्त्वपूर्ण र यसले देशको सुरक्षा र स्थिरतालाई प्रोत्साहन गर्ने अपेक्षा व्यक्त गरेका छन्। येरेभानले सुम्पिएको क्षेत्रको भुपरिवेष्ठिक देश अर्मेनियाका लागि रणनीतिक महत्व रहेको छ किनभने यसले जर्जियाको महत्वपूर्ण राजमार्गलाई जोड्छ।

अर्मेनियाली बासिन्दाले भने पसिन्यानको यस कदमले उनीहरूलाई देशको बाँकी भागबाट अलग गर्न सक्ने भय व्यक्त गरेका छन्। अर्मेनियाले आगामी केही महिनामा यस क्षेत्रमा नयाँ सडक निर्माण गर्ने पसिन्यानले बताएका छन्।

प्रधानमन्त्री पसिन्यानको उक्त निर्णयले उनको राजिनामा माग गर्दै करिश्माई धर्मगुरु बग्रात गलस्तान्यानको नेतृत्वमा हजारौं प्रदर्शनकारीहरूको साथमा अर्मेनियामा सरकार विरोधी प्रदर्शनको सुरु भएको छ।

अर्मेनियाको राष्ट्रिय सुरक्षा सेवाले शुक्रबार अर्मेनियाली गाउँ किरान्ट्स नजिकैको सिमानाको ५.८ किलोमिटर क्षेत्रलाई ‘जुलाई २४ सम्म संक्रमणकालीन योजना अनुसार’ सुरक्षा गरिने बताएको छ। किरान्ट्स गाउँका मेयरले नयाँ सडक निर्माण नभएसम्म अजरबैजानको नियन्त्रणमा हस्तान्तरण गरिने सडकको एउटा भाग प्रयोग गर्न स्थानीयहरूलाई अनुमति दिइने बताएका छन्।

प्रकाशित मिति: १८:१६ बजे, शुक्रबार, जेठ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्