Kathmandu Press

मेक्सिकोमा चुनावी सभाकाे स्टेज भत्किँदा नौ जनाको मृत्यु

मेक्सिकोमा चुनावी सभाकाे स्टेज भत्किँदा नौ जनाको मृत्यु

मेक्सिको, जेठ १०ः बिहीबार उत्तरी मेक्सिकोमा चुनावी अभियानका लागि निर्माण गरिएको कार्यक्रमस्थल (स्टेज) हुरीका कारण भत्किँदा एक बालकसहित कम्तीमा नौ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

नुएभो लियोनका गभर्नर स्यामुएल गार्सियाका अनुसार दुर्घटनामा परी घाइते भएकामध्ये अहिलेसम्म कम्तीमा नौ जनाको मृत्यु भएको र अन्य ५० जना घाइतेको उपचार भइरहेको छ।

Hardik ivf

स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक ‘भिडियो फुटेज’मा दुर्घटनाको दर्दनाक दृश्य देख्न सकिन्छ। भिडियोमा अचानक स्टेज भत्किएपछि भाग्दै गरेका मानिसहरूलाई कैद गरिएको छ।

गभर्नर गार्सियाले सामाजिक सञ्जाल एक्स (ट्विटर)मा लेखेको एक पोस्टमार्फत् सान पेड्रो गार्जा गार्सिया सहरमा भएको उक्त घटनालाई एउटा त्रासदीको रूपमा वर्णन गरेका छन्।

पिडितका आफन्तहरुले हावाको तीव्र वेगका कारण स्टेज खसेको बताएका छन्। सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरुमा सैनिक तथा मेडिकल टोलीले जमिनमा छरिएका भग्नावशेष एवं चुनावी पोस्टरहरूले भरिएको मैदानबाट शवहरू भ्यानमा ओसार्दै गरेको देखिएको थियो।

कार्यक्रम सान पेड्रो गार्जा गार्सियाका मेयरका लागि सिटिजन्स मुभमेन्ट उम्मेद्वार लोरेनिया क्यानावतीका लागि चुनाबी र्‍याली र अभियान समापनपछि सम्बोधनका लागि तयार पारिएको थियो। कार्यक्रममा पार्टीका सिनेटर र सांसदहरूका उम्मेद्वारहरूले पनि भाग लिएका थिए।

मेक्सिकोको मौसम विज्ञान शाखाले घटनाअघि नै ७० किलोमिटर प्रति घण्टाको हावाले नुएभो लियोन र अन्य उत्तरी राज्यहरूमा सम्भावित आँधीबेहरी आउने चेतावनी दिएको थियो।

प्रकाशित मिति: १९:०५ बजे, बिहीबार, जेठ १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्