पाँचौं बेथानचोक कप जिल्ला स्तरीय भलिवल सुरु
काभ्रे, जेठ ९ : बेथानचोक गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पाँचौं बेथानचोक कप जिल्ला स्तरीय आमन्त्रण पुरुष भलिवल प्रतियोगिता २०८० शुरु भएको छ। ढुंखर्कस्थित पार्वती मा।वि।को खेल मैदानमा आयोजित प्रतियोगितामा कूल १८ वटा टिम आमनेसामने हुने छन्।
बुधबार एक कार्यक्रमबीच कार्यक्रमबीच प्रतियोगिताको आरम्भ भएको छ। बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल भलिवल संघका केन्द्रीय उपाध्यक्ष एवम् नेपालका प्रथम अन्तराष्ट्रिय भलिवल रेफ्री गौतमप्रसाद लासिवा िथए।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष लासिवाले स्थानीय सरकारले खेलकुदमा पर्याप्त लगानी गर्न आवश्यक रहेको बताए। खेलकुद विकासका लागि पूर्वाधार मात्र सबैथोक नभएको भन्दै खेलकुदको विकासका लागिराज्यले यथेष्ट ध्यान दिनुपर्ने बताए। उनले देशको शान राख्ने गरी खेल्न खेलाडीलाई हौसला प्रदान गरे।
बेथानचोक गाउँपालिकाका स्वास्थ्य तथा खेलकुद शाखा प्रमुख प्रमोद (सिताराम) तिमल्सिनाले बजेटको सीमितताका बाबजुद खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन गाउँपालिका प्रतिबद्ध भएको बताए। खेलले भाइचार बढाउने बताउँदै उनले सबैको आफ्नो क्षमता र खेल कौशल प्रदर्शन गर्न खेलाडीलाई आग्रह गरे।
प्रतियोगितामा बेथानचोक गाउँपालिकाको ए र बी, लामाज क्लब, महांकाल गाउँपालिकाको ए र बी, अमरज्योति युवा क्लब, लड्केश्वर युवा क्लब, मण्डनदेउपुर नगरपालिका ए र बी, गिम्देली युवा क्लब, नयाँबस्ती युवा क्लब, दलिञ्चोक भलिवल, पाँचखाल नगरपालिका, काकाज ग्रुप, महाभारत गाउँपालिका ए र बी का साथै गौखुरेश्वर युवा क्लबको सहभागीता छ।
जेठ १२ गतेसम्म सञ्चालन चल्ने प्रतियोगिताको विजेताले ८० हजार, उपविजेताले ५० हजार, तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्ने स्वास्थ्य तथा खेलकुद शाखा प्रमुख सिताराम तिमल्सिनाले जानकारी दिए ।
यस्तै, बेष्ट डिफेन्स, बेष्ट सेटर, वेष्ट स्पाइकर, बेष्ट ब्लकर, बेष्ट सर्भर, सर्वोत्कृष्ट खेलाडीलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने छ।
यसैबीच बुधबार भएको उद्घाटन खेलमा टिम बेथानचोकले महांकाल गाउँपालिकालाई हराउँदै विजयी सुरुआत गरेको छ।