Kathmandu Press

सेयर बजारमा लगातार हरियाली, नेप्से दोहोरो अंकले बढ्यो

सेयर बजारमा लगातार हरियाली, नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौं, जेठ ७ः सेयर बजार बढ्ने क्रम साताको दोस्रो दिन पनि जारी छ। आज (सोमबार) २७.५४ अंकले बढ्दै नेप्से परिसूचक २०९२.०० मा पुगेको हो।

आज १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता सेयर ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँमा किनबेच भएको छ। यसअघि आइतबार ५ अर्ब २५ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको थियो।

सोमबार १३ मध्ये ८ उपसमूह बढेको छ भने ५ उपसमूहको सेयरमूल्य घटेको छ। वाणिज्य बैंक उपसमूह सर्वाधिक ४.१८ प्रतिशतले बढेको छ। यसैगरी, व्यापार २.२३, लगानी १.८४, जलविद्युत १.३८, म्युचुअल फण्ड १.२४ प्रतिशतले बढेका छन्। फाइनान्स, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, र निर्जीवन बीमा भने घटेका छन्।

१३४ कम्पनीको सेयरमूल्य बढ्दा सामुदायिक लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर, भगवती हाइड्रोपावर, नेरुडे मिर्मिरे लघुवित्तका लगानीकर्ता सर्वाधिक फाइदामा रहे। यी चार कम्पनीका सेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको छ । बाराही हाइड्रोपावर, एनआइसी एसिया बैंक, माईखोला हाइड्रोपावर पनि बढेका छन्।

१०७ कम्पनीको सेयरमूल्य घट्दा उपकार लघुवित्तका लगानीकर्ता सर्वाधिक ७.४० प्रतिशतले नोक्सानमा छन्। सृजनशील लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, युनिक नेपाल लघुवित्त, नारायणी विकास बैंक सेयरमूल्य घटेका कम्पनीको सूचीमा छन्। ५ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।

पोखरा फाइनान्सको सर्वाधिक १९ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, सीइडीबी हाइड्रोपावरको १८ करोड ८९ लाख, शाइन रेसुंगा विकास बैंकको १३ करोड ४८ लाख र एनआइसी एसिया बैंकको ११ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

प्रकाशित मिति: १८:०८ बजे, सोमबार, जेठ ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्