डा.हेमन्त खतिवडाको नयाँ कृति ‘कैसा मन मस्ताना प्यारे’
काठमाडौं, जेठ ६ : गीतकार डा.हेमन्त खतिवडाद्वारा लिखित हिन्दी गीतको संग्रह ‘कैसा मन मस्ताना प्यारे’ प्रकाशित भएको छ।
पुस्तकमा विशेष गरेर प्रेमको रोमान्टिक विषयलाई गीतकारले समेटेका छन्। यस कृतिमा दुई सय वटा हिन्दी गीतहरु रहेका छन्। दुई सय पृष्ठमा पुस्तक तयार भएको छ। गीतहरु प्रेम गीतको प्रचलित परम्परा भन्दा फरक किसिमले लेखिएका छन्।
गीतकार खतिवडा भन्छन्, ‘प्रेम भनेको सतही विषय नभई, यसको आफ्नै दर्शन छ र प्रेम गीत लाई पनि म दर्शन सँग जोडेर हेर्छु र लेख्न रुचाउँछु।’
ओम प्रकाशन दिल्लीले प्रकाशन गरेको उक्त कृति नेपाल र भारतमा पाठकहरु माझ लोकप्रिय हुने अपेक्षा गरिएको छ। गीतको बनोट र प्रस्तुतिका तरिका कलात्मक र बिम्वात्मक छन् । शव्दहरू सरल छन् । ती शव्दहरूले बोक्ने भाव गम्भीर छन्।
खतिवडाका गीतहरुमा प्रेमको मनोविज्ञान अनौठो तबरले घुलित भएका छन् । शव्द शव्दमा गहिरो मनोविज्ञान सम्प्रेषण गर्न गीतकार खप्पिस देखिन्छन्। विवाहको विषयवस्तुमा पनि केही गीत लेखेका छन्।
पुस्तकमा प्रस्तुत गरिएका गीतहरु मा प्रेमका विविध स्वरुपहरुलाई विभिन्न आयामहरूबाट ब्याख्या गरिएको छ । गीत संग्रहलाई रोमान्टिक गीतहरुको दस्तावेज भन्न सकिन्छ । गेयात्मक र लयात्मकताले कृतिको ओज बढेको छ।
खतिवडाका अन्य थुप्रै गीत लोकप्रिय छन्। उनी नेपालको सबभन्दा कम उमेरमा गीत लेख्ने गीतकार समेत हुन्। गीत संग्रहको मूल्य दुई सय रुपैयाँ भारु राखिएको छ।
दुई सय वटा गीतमा गीतकारले प्रेमको रोमान्टिक विषयलाई समेटेका कारण सबैका लागि हृदयश्पर्शी हुने अपेक्षा गरिएको छ।