Kathmandu Press

प्रभा एलुम्नाइद्वारा विरामी शिक्षकलाई सहयोग रकम हस्तान्तरण

लामो समयको उपचार र महँगो उपचार खर्चका कारण परिवारले आर्थिक व्यय धान्न सक्ने अवस्था नभएपछि प्रभा माविमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको साझा संस्था प्रभा एलुम्नाइ एसोसिएसनद्वारा उपचारार्थ सहयोग रकम आह्वान गरेर सहयोग रकम जुटाएको थियो।
प्रभा एलुम्नाइद्वारा विरामी शिक्षकलाई सहयोग रकम हस्तान्तरण

काभ्रे, जेठ ३ : काभ्रे चौँरीदेउराली गाउँपालिका–६ स्थित प्रभा माविमा अध्ययन गरी सोही गाउपालिका–७ मा अवस्थित सृजनशील माविमा विज्ञान शिक्षकको रुपमा कार्यरत चौँरीदेउराली गाउँपालिका–६ निवासी बालदिप राज गिरीलाई उपचारार्थ सहयोगका लागि प्रभा एलुम्नाईले आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

विगत ४ वर्षदेखि मुटु रोगबाट पीडित शिक्षक गिरीको पहिलो पटक २०७६ मा ओपन हार्ट सर्जरी गरिएकोमा अहिले पुनः दोश्रोपटक ओपन हार्ट सर्जरी गर्नुपरेको हो। दोश्रो पटकको ओपन हार्ट सर्जरी पश्चात मस्तिष्कमा रगत जम्न गई त्यसको पनि अपरेसन गर्नुपर्दा उपचारमा ठूलो धनराशी खर्च भएको उनको पारिवारीक स्रोतले जानकारी दिएको छ।

लामो समयको उपचार र महँगो उपचार खर्चका कारण परिवारले आर्थिक व्यय धान्न सक्ने अवस्था नभएपछि प्रभा माविमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको साझा संस्था प्रभा एलुम्नाइ एसोसिएसनद्वारा उपचारार्थ सहयोग रकम आह्वान  गरेर सहयोग रकम जुटाएको थियो।

Hardik ivf

एलुम्नाइद्धारा संचालित ‘बालदिप गिरी बचाऔँ अभियान’ अन्तर्गत हालसम्म संकलित रकम रु ५ लाख २ हजार ८८ रुपैयाँ लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीमा पुगेर एलुम्नाइका अध्यक्ष गोकुल गौतम, सहयोग संकलन समितिका संयोजक कोशिका चौलागाईं, वडा नं. ६ का वडा अध्यक्ष किशोर राज गिरी, संस्थापक महासचिव जीतराम लामा, वीणा श्रेष्ठ, नारायण गौतम लगायत एलुम्नाइ सदस्यहरूको उपस्थितिमा शिक्षक गिरीको धर्मपत्नी सरिता पूरीलाई हस्तान्तरण गरिएको थियो।

Baliv-2-1715857539.jpg

काठमाडौंको मेडिसिटी अस्पतालमा एक महिना भन्दा बढी समयको उपचार पश्चात गिरीको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । पारिवारिक स्रोतका अनुसार उनको उपचारमा हालसम्म ५० लाख हाराहारी खर्च भइसकेको छ भने अझ निकै समय अस्पताल राख्नुपर्ने भएकाले अझ धेरै खर्च लाग्ने अनुमान छ।

कार्यक्रममा ‘बालदिप राज गिरी बचाऔँ अभियान’ अन्तर्गत उक्त अभियानका संयोजक कोशिका चौलागाईंको खातामा आएको रकम हस्तान्तरण गरिएको हो । अभियानकै क्रममा कार्यक्रम इन्द्रेणीबाट रु २५ हजार र कार्यक्रममा उपस्थित दर्शकहरुबाट संकलित १९ हजार गरी रु. ४४ हजार समेत शिक्षक गिरीको श्रीमति सरिता पुरिलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रम इन्द्रेणीमार्फत सहयोग हस्तान्तरण गर्न इन्द्रेणीका कलाकार युवराज चौलागाईंले अहम भूमिका खेलेका थिए।

अभियान बाहेक पनि शिक्षक गिरीको उपचारार्थ सहयोगका लागि प्रभा मावि, सिर्जनशिल मावि तथा जागृति माविका शिक्षकहरुले तथा पूर्वविद्यार्थीहरुले सहयोग रकम हस्तान्तरण गरिसकेका छन् भने प्रभा माविका फरक फरक एसएलसी व्याजका पूर्वविद्यार्थीहरुले पनि सहयोग रकम संकलन तथा हस्तान्तरण गरिरहेका छन । यस्तै शिक्षक गिरीकी श्रीमतिको खातामासमेत देश–विदेशमा रहेका शुभचिन्तकहरुले सहयोग रकम पठाइरहेका छन।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै एलुम्नाइका अध्यक्ष गोकुल गौतमले अभियानमा सहयोग गर्ने देश तथा विदेशमा रहेका सम्पूर्ण सहयोगी मनहरुलाई आभार एबम् धन्यवाद प्रकट गर्दै थप सहयोगको लागि अपिल समेत गरेका छन्।

यस्तै वडा अध्यक्ष किशोर राज गिरीले अभियानमा साथ, सहयोग र समर्थन गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै अभियान सञ्चालनको लागि प्रभा एलुम्नाइ एसोसिएसनको प्रशंसा गरे । त्यसैगरी प्रभा माविका पूर्व शिक्षक एबम् प्रभा बहुमुखी क्याम्पसका संस्थापक क्यम्पस प्रमुख चूडा प्रसाद चौलागाईंले पनि कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल र सहयोग पु¥याउने सबैप्रति आभार व्यक्त गरे।

थप सहयोगका लागि फोन नं. ९८६०१३३२८४ र ९८४९०७३५७  मा सम्पर्क गर्न सकिने तथा सहयोग रकम पठाउनका लागि शिक्षक गिरीको श्रीमति सरिता पुरीको नाममा रहेको कुमारी बैंक लिमिटेडको खाता नं. २६६०१७०८८७२००००१ मा सिधै पठाउन सकिने जनाइएको छ।

प्रकाशित मिति: १६:५१ बजे, बिहीबार, जेठ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्