कोरोनाबाट बच्न दिल्ली छोडेका मजदूरको हिँड्दाहिँड्दै मृत्यु
काठमाडौं, चैत १६ : कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल, भारतलगायत विभिन्न देशका शहरमा रहेका मजदूर गाउँतिर लागेका छन्। तर, भारतको राजधानी दिल्लीबाट गा....

काठमाडौं, चैत १६ : कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल, भारतलगायत विभिन्न देशका शहरमा रहेका मजदूर गाउँतिर लागेका छन्। तर, भारतको राजधानी दिल्लीबाट गाउँतिर लागेका एक मजदूरको हिँड्दाहिँड्दै मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार, आग्राका ३९ वर्षीय रणवीर सिंहको दिल्लीबाट दुई सय किलोमिटर हिँडेपछि मृत्यु भएको हो। उनी दिल्लीको एक रेस्टरेन्टमा होम डेलिभरी गर्दै आएका थिए।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारतमा २१ दिने लकडाउन गरिएको छ। लकडाउन गरिएपछि राजधानी दिल्लीमा रहेका मजदूर पैदल आआफ्नो गाउँतिर लागिरहेका छन्। यस्तैमा उनी पनि दिल्लीबाट आग्राको बद्फ्रा गाउँका लागि हिडेका थिए।
स्थानीय प्रहरीका अनुसार, उनी दुई सय किलोमिटर हिडेका थिए। दिल्ली आग्रा राजमार्गकै हरिपर्वतस्थित कैलाश मोडमा ढलेका थिए। उनलाई नजिकैको पसलले उठाएर पसलमा लगेका थिए। ति पसलले चिया र बिस्कुट खान दिएका थिए।
प्रहरीका अनुसार, उनले छाती दुखेको बताएका थिए। त्यहीबाट आफ्नो परिवारजनलाई फोन गरेर आफू अस्वस्थ भएको जानकारी पनि दिएका थिए। त्यहाँबाट उनको घर पुग्न अझै ८५ किलोमिटर बाँकी थियो।
त्यसको केहीबेरमा उनको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। उनी बोल्न छोडेपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले अस्पताल लगेपनि उनी बाँच्न सकेनन्। उनको हृदयघातबाट मृत्यु भएको अस्पतालको भनाइ छ। उनले धेरै हिडेकाले मुटुमा समस्या आएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ छ।
उनी तीन वर्षदेखि दिल्लीमा काम गर्दै आएका थिए। उनका भाइ सोनु सिंहका अनुसार, उनले दिल्ली छोड्नु अघि घर आइरहेको खबर गरेका थिए। तर, बाटोमा फोन गरेका थिएनन्।
भारतमा हजारौं मानिस दिल्ली छोडेर गाउँतिर लागिरहेका छन्। यातायात बन्द भएपछि उनीहरु पैदल हिडिरहेका फोटो सञ्चारमाध्यममा आएका छन्।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

