‘मिस पिंक २०२४’ मा १८ प्रतिस्पर्धी, ३ जेठमा फाइनल
नील हिरा समाजले शनिबार काठमाडौको त्रीपुरेश्वरमा पत्रकार भेटघाट आयोजना गर्दै २०२४ का लागि मिस पिंक आयोजना गर्न लागिएको जनाएको हो ।काठमाडौं, वैशाख ३० : ट्रान्स वुमनहरुको प्रतिभा प्रष्फुटन र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि आयोजना हुँदै आएको ‘मिस पिंक २०२४’ को सातौं संस्करण आगामी ३ जेठमा काठमाडौंमा हुने भएको छ ।
नील हिरा समाजले शनिबार काठमाडौको त्रीपुरेश्वरमा पत्रकार भेटघाट आयोजना गर्दै २०२४ का लागि मिस पिंक आयोजना गर्न लागिएको जनाएको हो । लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमाथि हुने घृणा विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसर पारेर ब्युटी ट्यालेन्ट प्रतियोगिताको फाइनल राउन्ड गर्न लागिएको समाजकी अध्यक्ष पिंकी गुरुङले जानकारी दिइन । सो कार्यक्रममार्फत समुदायलाई थप शसक्त बनाउने र कुसल नेतृत्वको विकास गर्ने उद्देश्य लिइएको छ।
पत्रकार भेटघाटमा समाजकी अध्यक्ष गुरुङले समुदायको मुद्दा वकालत गर्न र क्षमता अभिवृद्धि गर्दै समाजमा सकारात्मक प्रभाव वढाएर समुदायमा रहेका व्यक्तिहरुलाई सामाजिक रुपमा स्थापित गरी विभेदरहित कानुन र सकारात्मक समाजको वातावरण निर्माण गर्न दबाब स्वरुप मिस पिंक आयोजना गर्दै आएको जानकारी दिइन ।
‘समुदायका व्यक्तिहरुलाई खुल्ला, स्वतन्त्र र निर्वाध रुपमा आफ्नो जीवन बाँच्न पाउने अधिकार प्रत्याभूत गराउने पनि कार्यक्रमको उद्देश्य हो,’ अध्यक्ष गुरुङले भनिन् । कार्यक्रम काठमाडौंको नाचघरमा हुने र फाइनल राउन्डसँगै समूदायका व्यक्तिहरुको आकर्षक नृत्य, गायन तथा अन्य प्रतिभाहरु प्रश्तुत गर्ने तालिका छ ।
कार्यक्रममा सहभागिताका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ । नील हिरा समाजको आयोजना एवम राइट हेयर राइट नाउ, एड्स हेल्थकेयर फाउन्डेसन नेपालको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो ।
कार्यक्रम सहभागिताका लागि काठमाडौ उपत्यका भित्र र बाहिरबाट गरेर ३० जनाले अनलाइन प्रबिधिमार्फत फाराम भरेको समाजले जनाएको छ । उनिहरुमध्येबाट १८ जना छनौट भएका थिए भने उनिहरुलाई १७ दिनको तालिम प्रदान गरिएको थियो ।अन्तिम प्रतिस्पर्धामार्फत भने एक जनाले मिस पिंकको उपाधी हात पार्नेछन ।