स्वास्थ्यकर्मीकाे मनाेबल बढाउन डा. काेइरालाकाे पाँच बुँदे अपील
काठमडौं, चैत १६ः नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले स्वास्थ्यकर्मीहरुका आवश्यक सामाग्री उपलब्ध गराउन नसक्नु सरकारको कमजोरी भएको बताएका छ....

काठमडौं, चैत १६ः नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले स्वास्थ्यकर्मीहरुका आवश्यक सामाग्री उपलब्ध गराउन नसक्नु सरकारको कमजोरी भएको बताएका छन्। उनले पीपीईको प्रबन्ध समयमै गर्न नसक्नु सरकारको लाचारी भएको बताएका हुन्।
डा. कोइरालाले सरकारसँग स्वास्थ्यकर्मीहरुका लागि अनिवार्य रुपमा पीपीईको प्रवन्ध गरेर संक्रमितको उपचारका लागि उनीहरुको मनोबल उच्च बनाउन आग्रह गरेका छन्।
स्वास्थ्यकर्मीहरुका लागि अनिवार्य पीपीईको प्रबन्ध समयमै गर्न नसक्नु आजको सरकारको सबैभन्दा ठूलो कमजोरी र लाचारी हो। यथाशीघ्र देशब्यापी रूपमा पीपीई पुर्याएर सम्भावित संक्रमितको परिक्षण एवं संक्रमितको उपचारमा स्वास्थ्कर्मीको मनोबल उच्च बनाउन म सरकारसँग अनुरोध गर्दछु,” अपिलमार्फत उनले भनेका छन्।
यस्तो छ उनको अपिल
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरससँग जुध्न नेपाल सरकारले गरिरहेका प्रयत्नहरुलाई नेपाली कांग्रेसले निरन्तर साथ दिंदै आएको छ।
लकडाउनको पालना गरेर जनताले यो संघर्षप्रती एक्यवद्धता जनाइरहेका छन्। परिणाममुखी रूपमा कार्य गर्न निर्मित वातावरण उपयोग गर्दै अब स्वास्थकर्मी र सुरक्षाकर्मीको नेतृत्वमा हामीले संघर्षमा जीत हासिल गर्नुपर्दछ।
चिकित्सकका रूपमा लामो समय सेवा र प्राध्यापन समेत गरेको नाताले आजको स्थितीलाई मैले निकैदिन देखि नजिकबाट नियालिरहेको छु। अत नेपाल सरकार र नेपालभरिका स्वास्थकर्मीहरुका नाममा यो अपील सार्वजनिक गरेको छु।
१. कुनैपनि स्वास्थकर्मी निश्चित भत्ताले भन्दा मानवीय भावनाले अभिप्रेरित रहन्छन् बिरामीको उपचार गर्न। उनीहरुमा रहेको त्यही मानवीय भावना,समर्पण र साहसनै आजको विश्वब्यापी महामारीबाट बाहिर निक्लने मुख्य मार्ग हो। अत म नेपालभरिका सबै स्वास्थकर्मीमा आजको यो प्रतिकुल परिस्थितिमा उच्च मनोबल साथ कार्य गर्न एक चिकित्साकर्मी समेतका नाताले अपील गर्दछु।
२. स्वास्थकर्मिहरुका लागि अनिवार्य पीपिइको प्रबन्ध समयमै गर्न नसक्नु आजको सरकारको सबैभन्दा ठूलो कमजोरी र लाचारी हो। यथासिघ्र देशब्यापी रूपमा पीपिइ पुर्याएर संभावित संक्रमितको परिक्षण एवं संक्रमितको उपचारमा स्वास्थकर्मिको मनोबल उच्च बनाउन म सरकारसंग अनुरोध गर्दछु।
३. विश्व स्वास्थ संगठनले बढी भन्दा बढी परिक्षणका लागि अपील गरेको छ। हामी केवल टेकु स्थित रास्ट्रीय प्रयोगशालामा परिक्षण गरेर परिक्षणको चाप धान्न सक्दैनौं। केही थप ठाउँमा शुरु गर्न लागिएको सकारात्मक छ, तर ७ प्रदेशमै परिक्षण गर्ने ब्यवस्था अब ढिलाइ नगरी शुरु गर्न र क्रमशः त्यसलाई सबै जिल्लामा विकेन्द्रीत गर्न म सरकारलाई विशेष अनुरोध गर्दछु।
४. हालसम्म पांच जनामा कोरोना संक्रमण देखिएको छ। तर उनीहरु यसविचमा घुलमिल भएको परिवारका सदस्य, छरछिमेकी एवं ब्यक्तिगत साथी समुहको परिक्षण गर्न जरुरी तदारुकता र उच्च सतर्कता सरकारले नदेखाउनु दुःखद छ। तत्काल परिक्षण गर्ने ब्यवस्था मिलाउन म नेपाली कांग्रेस पार्टीका तर्फबाट सरकारलाई अनुरोध गर्दछु।
५. लकडाउनमा घरभित्र बसेका जनतालाई संक्रमणको कुनै आशंका हुनासाथ घरबाटै सावधानी पुर्वक ल्याएर परिक्षण केन्द्रमा पुर्याउने ब्यवस्था गर्न म सरकारलाई आग्रह गर्दछु। त्यसरी आइसोलेसन र संक्रमित देखिए सुरक्षित उपचारको ब्यवस्थाले मात्रै सम्बन्धित ब्यक्तिबाट अन्यमा फैलिन रोक्न सकिन्छ।
अन्य देशले हासिल गरेको सफलता र असफलता दुवैबाट सिकेर अघि बढ्नु आज हामी सबैको रास्ट्रीय कर्तव्य रहेको अपीलपनि म नेपाली कांग्रेसका तर्फबाट सरकार, सम्बन्धित निकाय र सबै जनतामा गर्न चाहन्छु।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

