कोभिड–१९ विरूद्ध लड्न राजनीतिक संयन्त्र बनाउन साझा पार्टीको सुझाव
काठमाडाैं, चैत १५ : साझा पार्टीले कोभिड–१९ को सङ्क्रमणले निम्त्याएका र निम्ताउनसक्ने विभिन्न सङ्कटसँग जुध्न उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्....

काठमाडाैं, चैत १५ : साझा पार्टीले कोभिड–१९ को सङ्क्रमणले निम्त्याएका र निम्ताउनसक्ने विभिन्न सङ्कटसँग जुध्न उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्र र उच्चस्तरीय विज्ञसमितिको गठन गर्न सरकारलाई सुझाव दिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा लेखिएको सुझावपत्र शनिबार पार्टीका संयोजक रवीन्द्र मिश्र तथा प्रवक्ता डा सूर्यराज आचार्यले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई हस्तान्तरण गरेका छन्। कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण तथा उपचारका लागि वर्तमान अवस्थाको गम्भीरतालाई हेर्दा सरकारको नियमित र घनिभूत क्रियाशीलताका साथै राष्ट्रिय सहमति प्रतिबिम्वित् हुने राजनीतिक तहको ऐक्यबद्धतापूर्ण निर्णय जरूरी रहेको साझा पार्टीले जनाएको छ।
“तसर्थ, सम्भव छ भने तपाईंकै नेतृत्वमा, त्यो सम्भव नभए, उपप्रधानमन्त्री पोखरलेको नेतृत्वमा प्रमुख दलका नेतासमेत रहने गरी उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गर्नु अत्यावश्यक देखिएको छ, यो संयन्त्रले राजनीतिक तहमा आएका विभिन्न विचार, राय र सुझावलाई समीक्षा र सम्प्रेषण गर्ने माध्यमको रुपमा पनि काम गर्नेछ, सङ्कटको यो घडीमा आज मानिसको राज्य र राजनीतिप्रतिको विश्वसनीयता कायम राख्नसमेत यस्तो संयन्त्रले सघाउ पुर्याउने छ”, पार्टीका संयोजक मिश्रद्वारा लेखिएको सुझाव पत्रमा उल्लेख छ।
यसैगरी वर्तमान सङ्कटको विविध क्षेत्रमा पर्ने तत्कालीन र दीर्घकालीन असरसँग जुध्न सरकारलाई निरन्तररूपमा आवश्यक विश्लेषण, सुझाव र समीक्षाका लागि एउटा उच्चस्तरीय विज्ञ समिति निर्माण गर्नसमेत साझा पार्टीले सुझाएको छ। उक्त समितिमा प्रशासन र स्वास्थसेवाका सम्बन्धित अधिकारीलगायत देशभित्र र बाहिर रहेका नेपाली् तथा आवश्यक परेको खण्डमा, विदेशी विज्ञलाई पनि सामेल गर्न सकिने सुझाव पत्रमा उल्लेख छ।
हालकै संरचनाभित्रको घनिभूत प्रयासको निरन्तरताले मात्रै वर्तमान सङ्कटको सामना गर्न सहज नहुने र यो अभूतपूर्व मानवीय सङ्कटसँग जुध्न सरकारले आफ्नो कार्यशैलीमा अभूतपूर्व संरचनागत फेरबदल गर्नुपर्ने साझा पार्टीको धारणा छ।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

