Kathmandu Press

इलामको सिद्धदेवी टी स्टेटलाई अमेरिकामा अवार्ड

हालै अमेरिकाको लस भेगासमा आयोजित ‘विश्व चिया एक्सपो २०२४’ मा चिया उत्पादनमा उत्कृष्ट प्रदर्शनी गरेबापत नेपालमा उत्पादित चियाले ‘विश्वको उत्कृष्ट चिया’ को उपाधि जितेको हो। 
इलामको सिद्धदेवी टी स्टेटलाई अमेरिकामा अवार्ड

काठमाडौं, वैशाख २१ : पूर्वी नेपालको इलामस्थित सिद्धदेवी टी स्टेटले ‘विश्वको उत्कृष्ट चिया’ को उपाधि जितेको छ।

हालै अमेरिकाको लस भेगासमा आयोजित ‘विश्व चिया एक्सपो २०२४’ मा चिया उत्पादनमा उत्कृष्ट प्रदर्शनी गरेबापत नेपालमा उत्पादित चियाले ‘विश्वको उत्कृष्ट चिया’ को उपाधि जितेको हो। 

Hardik ivf

अमेरिकास्थित वल्र्ड टी एक्सपो डट कमका अनुसार यो वर्ष विश्वकै सबैभन्दा उत्कृष्ट चियाको पुरस्कार ‘ग्राण्ड च्याम्पियन’ को उपाधि नेपालको सिद्धदेवी टी स्टेट प्राइभेट लिमिटेडले प्राप्त गरेको हो। 

सिद्धदेवी टी स्टेट कम्पनीले ‘ग्रान्ड च्याम्पियन’, ‘बेस्ट लिकर’ र ‘बेस्ट ह्वाइट टी’ गरी चार विधामा उपाधि जितेको हो। सूचीमा रहेका १३ देशका पेय पदार्थमध्ये कम्पनीले ‘ओरिजिन विनर’को उपाधि पनि प्राप्त गरेको कम्पनीले जनाएको छ।

पाँचथर र इलामको सीमाना रहेको यो टी स्टेटले ग्रिन टी, ब्ल्याक टी, व्याइट टी लगायत उत्पादन गर्दै आएको छ। उक्त एक्सपो चिया उद्योगहरुको विश्वमै सबैभन्दा ठूलो एक्स्पो हो। उक्त एक्सपोमा विश्वका उत्कृष्ट प्रयोगशालाबाट चियाको नमुना परीक्षण र टी टेस्टरले स्वाद चाखेर चियाको गुणस्तर घोषणा गर्दै आएका छन्। 

उक्त एक्सपोमा अवार्ड जितेका कम्पनीहरुले अन्तर्राष्ट्रिय चिया बजारमा उत्कृष्ट चिया र उत्पादकहरूको प्रतिनिधित्व गर्दै आएका छन्। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यवाहक कार्यकारी निर्देशक डा.दीपक खनालले नेपालमा उत्पादन हुने चियाले गुणस्तरीयताका कारण बारम्बार विश्वस्तरीय अवार्ड जित्दै आएको बताए। ‘दक्षिण एसियाली क्षेत्रमा उत्पादन हुने उत्पादनमा नेपाली चियाले राम्रो पहिचान पाएको छ,’ उनले भने।

आर्थिक वर्ष २०२२÷२३ मा मुलुकमा २६ हजार ४ सय टन चिया उत्पादन भएको नेपाल चिया तथा कफी विकास बोर्डको अभिलेखले देखाएको छ। २० हजार २३० हेक्टर जमिनमा चिया लगाइएको बोर्डको भनाइ छ। 
 

प्रकाशित मिति: १५:२२ बजे, शुक्रबार, वैशाख २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्