गोकर्णेश्वरले नगरवासीका घर घरमा ग्यास र खाद्य सामग्री पुर्याउने
काठमाडौं, चैत १४ : गोकर्णेश्वर नगरपालिकाले अत्यावश्यक सेवाका खाद्य सामग्री र ग्यास अभाव हुने नगरवासीका घरघरमा सवारीमार्फत सेवा पुर्याउने भएको छ ।....

काठमाडौं, चैत १४ : गोकर्णेश्वर नगरपालिकाले अत्यावश्यक सेवाका खाद्य सामग्री र ग्यास अभाव हुने नगरवासीका घरघरमा सवारीमार्फत सेवा पुर्याउने भएको छ । कोरोनाको सङ्क्रमणबाट बच्न सरकारले लकडाउन गरेको चौथो दिनसम्म नगरवासीले खाद्य सामग्री, ग्यासलगायत अत्यावश्यक चीजबीज नपाउँदा भान्सा नै बन्द गर्नुपर्ने भयो भन्दै फोनबाट गुनासो गरेपछि शनिबारदेखि नै नगरपालिकाले यो सेवा दिन लागेको नगरप्रमुख सन्तोष चालिसेले बताए।
'पाँच सातजनाको समूह बनाएर अभाव हुनेका घरमा आवश्यक सामान ढुवानीको व्यवस्था मिलाउन लागेका छौँ, उपभोक्ताले बजारकै भाउमा घरमै सामान पाउँछन्, ढुवानी खर्च नगरपालिकाले व्यहोर्छ, यसरी सामान ढुवानी गर्नेको फोन नं समेत सार्वजनिक गछौँ', उनले भने। यसरी आउने सामानमा उपभोक्ताले अधिकतम् मूल्यभन्दा बढी तिर्नुनपर्ने उनले बताए।
महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्कीले ग्यास, पानीलगायत सामग्री राखिएका पसल बन्द गराउने नीति सरकारको नरहेकाले कतै त्यस्तो भएको भए खुलाउन लगाउने बताए।
कोरोनाको सङ्क्रमणबाट बच्न शुरु गरिएको लक डाउनको मौका छोपी २० रुपैयाँ पर्ने नुनको प्याकेटको २५ रुपैयाँ लिएको, ग्यासको कालोबजारी भएको, अत्यावश्यक चिनी, तेल, जारको पानी जस्ता सामग्रीको भाउ बढाइएको, ग्यास राखेर नदिने गरिएको उपभोक्ताको गुनासो छ ।
कृत्रिम अभाव, कालोबजारी र दोब्बरसम्म मूल्यवृद्धि हुँदा स्थानीय तहका अनुगमन समिति मुकदर्शकमात्र बनेको आम उपभोक्ताको भनाइ छ। स्थानीय तह सञ्चालन ऐनअनुसार नगरपालिकाका उपप्रमुखको संयोजकत्वमा अनुगमन समिति गठन हुने व्यवस्था छ। सङ्कटका बेला पनि यस क्षेत्रका बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शङ्खरापुरलगायत नगरपालिकाका अनुगमन समिति निष्क्रिय रहेको स्थानीयको गुनासो छ।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

