कोशीका प्रमुखलाई मुख्यमन्त्रीकाे पत्र- संकल्प प्रस्तावकै आधारमा सरकार फेर्न नलाग्नुहाेस्
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सभाले पारित गरेको संकल्प प्रस्ताव कै आधारमा सरकार परिवर्तन गर्नु असंवैधानिक र संसदीय मूल्य मान्यता विपरित हुने बताए।
विराटनगर, वैशाख १८ : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्तावकै आधारमा सरकार परिवर्तनको कार्यमा नलाग्न प्रदेश प्रमुख परशुराम खापुङ्लाई स्मरण पत्र बुझाएका छन्।
मंगलबार विराटनगरमा मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख परशुराम खापुङलाई स्मरण पत्र हस्तान्तरण गर्दै संविधान र प्रदेश सभा नियमावली अनुसार प्रदेश प्रमुख भूमिका, संकल्प प्रस्ताव दर्ताको प्रक्रिया र प्रस्तावको उद्देश्य, मुख्यमन्त्री नियुक्तिका आधारहरु बारे जानकारी गराउदै सरकार परिर्वतन नगर्न आग्रह गरेका हुन्।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सभाले पारित गरेको संकल्प प्रस्ताव कै आधारमा सरकार परिवर्तन गर्नु असंवैधानिक र संसदीय मूल्य मान्यता विपरीत हुने बताए। उनले प्रदेश प्रमुखले संविधान र कानुन अनुसार तटस्थ भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। कार्कीले प्रदेश प्रमुखले संविधानको मर्म र भावनाको संरक्षण गर्न क्रियाशिल हुनुपर्ने बताए।
गत चैत्र २६ गते नेकपा एमाले र माओवादी केन्द्रका ५२ जना प्रदेश सांसदहरुको आग्रहमा प्रदेश प्रमुख परशुराम खापुङले बैशाख ६ गते विशेष अधिवेशन आव्हान गर्नुभएको थियो। सो अधिवेशनले संकल्प प्रस्ताव पारित गर्दै बैशाख २६ गते भित्र विश्वासको मत लिन मुख्यमन्त्री कार्कीलाई निर्देशन गर्ने निर्णय गरेको थियो।
संकल्प प्रस्ताव अनुसार वैशाख २६ गते सम्म कोशी प्रदेशका मुख्यमन्त्रीले बहुमत सिद्ध गर्न नसके प्रदेश प्रमुखले अर्को सरकार गठनको प्रक्रिया शुरु गर्न सक्ने भएकाले मुख्यमन्त्री कार्कीले स्मरण पत्र बुझाएका हुन्।



-1765194974.jpg)







-(86)-1764936079.jpg)
