विदेशमा रहेका नेपालीलाई सहयोग गर्न दूतावासलाई मन्त्रीको निर्देशन
काठमाडौं, चैत १२ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रममन्त्री रामेश्वर राय यादवले कोरोना भाइरसका कारण विदेशमा रहेका नेपालीहरु बेरोजगार हुने अवस्था ....

काठमाडौं, चैत १२ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रममन्त्री रामेश्वर राय यादवले कोरोना भाइरसका कारण विदेशमा रहेका नेपालीहरु बेरोजगार हुने अवस्था आए वा अन्य कुनै समस्या भए खाने बस्ने व्यवस्था मिलाउन सम्बन्धित देशका नेपाली दूतावासलाई निर्देशन दिएका छन् । ५ वटा देशका नेपाली राजदूतसँग बुधबार भएको टेलिकन्फ्रेन्समा दुबै मन्त्रीले यस्तो निर्देशन दिएका हुन्।
साइप्रसका लागि नेपाली राजदूत डा. अन्जान शाक्य, जापानका लागि कार्यवाहक राजदूत कृष्ण चन्द्र अर्याल, मलेसियाका लागि राजदूत उदयराज पाण्डे, दक्षिण कोरियाका लागि कार्यवाहक राजदूत रामसिंह थापा र दक्षिण अफ्रिकाका लागि कार्यवाहक राजदूत घनश्याम लम्सालसँग दुई मन्त्रीको टेलिकन्फ्रेन्समा वार्ता भएको थियो। यी पाँचवटै मुलुकमा नेपाली रोजगारीका लागि गएका छन्।
दुवै मन्त्रीले बैठकमा पाँचै जना राजदूतसँग सम्बन्धित देशमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी लिएका थिए। राजदूतहरुले त्यहाँ नेपाली सुरक्षित रहेको रिपोर्टिङ गरेका थिए। उनीहरुले नेपालीहरु तत्काल बेरोजगार हुने स्थितिमा नरहेको बताएका थिए। मन्त्रीहरुले नेपाल लकडाउन भएकाले तत्काल आउन संभव नहुने भएकाले कुनै समस्या परेमा सहयोग गर्न राजदूतहरुलाई निर्देशन दिएका हुन्।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

