Kathmandu Press

बढ्दो व्यापारसँगै थपिँदै हेलिकाेप्टर

विशेष गरी हिमाली क्षेत्रमा जाने पर्यटकका कारण हेलिकाेप्टरको माग बढ्दो भएको हेली एभरेष्टका बजार प्रमुख सीताराम सापकोटा बताउँछन्।
बढ्दो व्यापारसँगै थपिँदै हेलिकाेप्टर

काठमाडौं, चैत २९ : पर्यटकीय याम सुरु भएसँगै हेलिकाेप्टरको व्यापार बढेको छ। पर्यटकीय गतिविधि बढेसँगै हेलिकाेप्टरको माग पनि बढेको छ। विशेष गरी हिमाली क्षेत्रमा जाने पर्यटकका कारण हेलिकाेप्टरको माग बढ्दो भएको हेली एभरेष्टका बजार प्रमुख सीताराम सापकोटा बताउँछन्।

'वसन्त ऋतुमा हेलिकाेप्टरको व्यापार राम्रो हुन्छ, व्यापार राम्रो हुनका लागि एउटा हेलिकाेप्टरले दैनिक औसतमा आठ घण्टा उड्नुपर्छ', उनले भने 'अहिले दैनिक पाँचदेखि छघण्टासम्म उडान भइरहेको छ। यो बढ्दो छ।' बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले हालै हेलिकाेप्टरको सङ्ख्या बढाएको छ।

'सिजनमा हेलिकाेप्टरको माग उत्साहबद्र्धक हुन्छ। हेलिकाेप्टर भित्र्याएर बजार बिस्तार गर्ने योजनामा व्यवसायी छन्', उनले भने 'हामीले पनि नयाँ एक थान हेलिकाेप्टर थप गरेका छौँ।' कम्पनीले एयरबस बीथ्री–२०१९, कलसाइन नाइन–एन एओबी हेलिकाेप्टर थप गरेको हो। यससँगै हेलि एभरेष्टका हेलिकाेप्टरको सङ्ख्या चार पुगेको छ। कम्पनीले यसअघि गत असोजमा तेस्रो हेलिकाेप्टर थपेको थियो। 

Hardik ivf

यसअघि चैतको पहिलो साता मनाङ एयरले नयाँ हेलिकाेप्टर ल्याएको थियो। कम्पनीले एच १२३ (बीथ्रीई) हेलिकाेप्टर ल्याएको हो। यस्तै, मुस्ताङले एउटा हेलिकाेप्टर थपेको छ। अल्टिच्युड एयरले पनि हेलिकाेप्टर थप्ने योजना बनाएको छ।

हेली एभरेष्टका बजार प्रमुख सापकोटाले थप एक थान हेलिकाेप्टर थप्ने कम्पनीको योजना रहेको बताउनुभयो। 'अर्को वर्षमा पाँच वटा हेलिकाेप्टर पुर्‍याउने योजना छ', उनले भने 'नियामक प्राधिकरणले हेलिकाेप्टर कम्पनीसँग पाँच वटा पुर्‍याउन भनेको छ, तीन वटा हेलिकाेप्टर नभए नवीकरण नै नहुने व्यवस्था छ।'

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार नेपालमा १२ वटा हेलिकाेप्टर कम्पनीसँग ४० वटा हेलिकाेप्टर छन्। यीमध्ये ३६ वटा हेलिकाेप्टर सञ्चालनमा छन्। नेपाली सेनासँग छुट्टै ६ थान हेलिकाेप्टर छन्।

क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अहिले सञ्चालनमा रहेका बाहेक थप दुई हेलिकाेप्टर कम्पनी आउने प्रक्रियामा रहेको बताए। उनले भने 'सञ्चालनमा रहेका १२ बाहेक थप दुई हेलिकाेप्टर कम्पनी सञ्चालनको प्रक्रियामा छन्। वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) लिने चरणमा छन्।'

भूधरातलीय अवस्थाले नेपालमा हेलिकाेप्टर सेवा निकै प्रभावकारी मानिन्छ। महँगाे भए पनि अत्यावश्यक काम, आकस्मिक उद्धार, पर्यटकीय सेवा, व्यापारिक उडान, चिकित्सकीय सेवा तथा कार्गो उडानमा यो हेलिकाेप्टरको प्रयोग गरिँदै आएको छ।

हेलिकाेप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेल शर्माले अहिले हेलिकाेप्टरलाई भ्याइनभ्याइ रहेको र यो चाप अझै बढ्ने बताए। उनले हेलिकाेप्टरको सङ्ख्या बढे पनि पाइलटको अभाव र मौसमका कारणले हेलिकाेप्टर उडानमा समस्या भइरहेको उल्लेख गरे।

श्री एयरलाइन्ससँग सर्वाधिक आठ हेलिकाेप्टर छन्। कम्पनीसँग एमआई १७ हेलिकाेप्टर छ र बिआडी दुई छन्। एयर डाइनेस्टी र प्रभु हेलिकाेप्टरसँग चार, माउन्टेन एयर, हेली एभरेष्ट, अल्टिच्युड एयर र फिस्टेल एयरका समान दुई हेलिकाेप्टर छन्।

सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीका अनुसार कम्पनीले १० वटा हेलिकोप्टर थप्ने दीर्घकालीन योजना छ। चालु आर्थिक वर्षमा एक र अर्को वर्ष थप एक हेलिकाेप्टर ल्याउने कम्पनीले जनाएको छ। यो कम्पनीसँग एयरबस (बीथ्रीई) हेलिकाेप्टर दुई र बेल ५०५ हेलिकाेप्टर दुई गरी कुल चार हेलिकाेप्टर सञ्चालनमा छन्।

नेपालमा अहिले श्री एयरलाइन्स, सिम्रिक एयर, फिस्टेल एयर, अल्टिच्युड एयर, मनाङ एयर, मुस्ताङ हेलिकाेप्टर, एयर डाइनेस्टि, माउन्टेन हेलिकाेप्टर, प्रभु हेलिकाेप्टर, अन्नपूर्ण हेलिकाेप्टर, एली एभरेष्ट र कैलाश हेलिकाेप्टरले सेवा दिइरहेका छन्।

वसन्त ऋतु हेलिकाेप्टरको मुख्य सिजन पनि हो। वसन्त ऋतुको यो याममा पर्वतारोहण र पदयात्राका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आउछन्। उनीहरु सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण, चर्चित, अन्नपूर्ण, लाङ्टाङलगायत गन्तव्यमा ठूलो सङ्ख्यामा पदयात्री पुग्छन्। 'अहिले हेलिकाेप्टरको विजनेस राम्रै छ। सिजन पनि चलिरहेकाले अर्को महिनासम्म अकुपेन्सी बढ्ने देखिन्छ', सिम्रिक एयरका महाप्रबन्धक जोशीले भने।

कैलाश हेलिकाेप्टरका प्रबन्ध सञ्चालक प्रतापजङ्ग पाण्डेले भने सिजनमै हेलिकाेप्टरको व्यापार सुस्त रहेको बताए। 'अघिल्लो वर्षभन्दा यो वर्ष विजनेश सुस्त छ', उनले भने, 'विदेशी पर्यटकको सङ्ख्या बढेपनि खर्चालु पर्यटक नहुँदा व्यापार आशातित रुपमा बढेको छैन।' (रासस)

प्रकाशित मिति: १२:३१ बजे, बिहीबार, चैत २९, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्