इलाम २ मा उम्मेदवारहरूको अन्तिम नामावलीमा १९ जना
मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले आज १९ जनाको अन्तिम नामावली प्रकाशन गरेको हाे।
इलाम, चैत २७ : इलाम २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले आज १९ जनाको अन्तिम नामावली प्रकाशन गरेको हाे।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार मनोनयन दर्ता गरेका २० जनामध्ये स्वतन्त्र उम्मेद्वार इलाम नगरपालिका-११ का केशवकुमार चापागाईले फिर्ता गरेका छन्। उम्मेदवारविरूद्ध आइतबारसम्म उजुरी गर्ने समय रहे पनि नपरेको जनाइएको छ।
अन्तिम नामावलीमा नेपाली कांग्रेसका डम्बरबहादुर खड्का, एमालेका सुहाङ नेम्वाङ, रास्वपाका मिलन कुमार योङहाङ लिम्बू तथा पहिचान पक्षधरका साझा तथा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बू (थेगिम), नेकपा समाजवादीका जितबहादुर राई, राप्रपाका लक्ष्मी गुरुङ छन्।
त्यसैगरी राप्रपा नेपालका उम्मेदवार गणेशबहादुर चौहान, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, मंगोल नेशनल अर्गनाईजेसनका मनिबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपाल पार्टीका धनराज राना मगर, नेपाल मजदुर किसान पार्टीका श्यामकुमार दर्जी, नेपाली जनता दलका रेशम बहादुर सुनार, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल पार्टीका जसवन्त विक्रम शाह पनि अन्तिम नामावलीमा समेटिएका छन्।
स्वतन्त्र उम्मेद्वारी दिनेहरू डाँकप्रसाद गौतम, दिपेश बोहोरा, डकेन्द्रसिं लिम्बु (थेगिम), अर्जुनबहादुर शाही, मनोज निरौला, योगेन्द्र गुरुङ, राज बस्याल अन्तिम नामावलीमा छन्। यी उम्मेदवारहरुलाई आजै चुनाव चिह्न प्रदान गर्ने जनाइएको छ ।












