लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा
चौधरीको राजीनामापछि लुम्बिनी सरकारको नेतृत्व पाएको माओवादीले नयाँ सरकार बनाउन दलहरूसँग छलफल शुरु गरेको छ।काठमाडौं, चैत २२ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामाको घोषणा गरेका छन्।
चौधरी गत वर्ष वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। चौधरी सत्ता गठबन्धन फेरिएसँगै अल्पमतमा परेका थिए।
विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक आह्वान गरे पनि अल्पमतमा पर्ने परिस्थिति उत्पन्न भएपछि चौधरीले राजिनामा घोषणा गरेका हुन्। चोधरीले प्रदेश संसदमा राजीनामा घोषणा गर्दै प्रदेशको विकास र समृद्धिका लागि नयाँ बन्ने सरकारलाई गुण र दोषका आधारमा समर्थन र आलोचना गर्ने बताए।
चौधरीको राजीनामापछि लुम्बिनी सरकारको नेतृत्व पाएको माओवादीले नयाँ सरकार बनाउन दलहरूसँग छलफल शुरु गरेको छ। माओवादी केन्द्र लुम्बिनीका दल नेता जोखबहादुर महरालाई मुख्य मन्त्री बनाउन गठवन्धनमा सहमती भएको छ।
लुम्बिनी सरकारको नेतृत्व माओवादीलाई दिन सत्ता साझेदार दलहरु नेकपा एमाले, माओवादी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबीच लिखित समझदारीपत्र तयार भएको जनाइएको छ।