वीरगञ्ज नाकाबाट भारत जानेको लर्को
वीरगञ्ज, चैत १० : सरकारले भारत र चीनसँग जोडिएको सबै नाका एक साताका लागि बन्द गर्ने निर्णय गरे पनि प्रदेश नं २ को वीरगञ्ज नाकाबाट भारत प्रवेश गर्नेको स....

वीरगञ्ज, चैत १० : सरकारले भारत र चीनसँग जोडिएको सबै नाका एक साताका लागि बन्द गर्ने निर्णय गरे पनि प्रदेश नं २ को वीरगञ्ज नाकाबाट भारत प्रवेश गर्नेको सोमबार बिहानैदेखि लर्को लागेको छ।
सरकारले गरेको उक्त निर्णय कार्यान्वयनका लागि स्थानीय प्रशासनलाई निर्देशन दिए पनि बिहानैदेखि काठमाडौंलगायत नेपालका विभिन्न शहरमा काम गर्ने भारतीय वीरगञ्ज नाका हुँदै भारततर्फ गएका हुन्।
अति आवश्यक सामान बोकेका मालबाहक ट्रक, तेल बोकेका ट्याङ्कर बिहानै भारतबाट वीरगञ्ज नाका हुँदै नेपाल प्रवेश गरेको छ। भारतबाट नेपाल आउने पैदलयात्रीको स्वास्थ जाँच गरीएको छ। वीरगञ्ज महानगरपालिकाका अहेव जितेन्द्रप्रसाद गुप्ताले एक जना मात्र स्वास्थकर्मीले पैदलयात्रीको स्वास्थ जाँच गर्नु पर्दा समस्या परेको बताएका छन्।
आज बिहानैदेखि नेपालबाट भारत तथा भारतबाट नेपालतर्फ एक हजारभन्दा बढी पैदलयात्री प्रवेश गरेको त्यहाँ रहेका सशस्त्र प्रहरीले जनाएको छ। भारतको विहारमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएपछि सो रोगको सङ्क्रमण फैलिन नदिन नेपाली सीमामा रहेका सशस्त्र प्रहरी तथा नेपाली सेनाले कडाइका साथ जाँच गर्ने गरेको स्थानीय प्रशासनले जनाएको छ।
यसैबीच जिल्ला प्रसाशन कार्यालय पर्साको आइतबार बसेको सुरक्षा समितिको बैठकले भारतबाट नेपाल प्रवेश गर्ने भारतीयलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले वीरगञ्ज रक्सौल नाका भएर नियमितरूपमा आवतजावत गर्नेबाहेक भारतका विभिन्न स्थानबाट आउने भारतीयलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

