'जनता कर्फ्यु' ले काँकडभिट्टा नाका ठप्प
भद्रपुर, चैत ९ : भारतले ‘जनता कर्फ्यु’ लगाएका कारण पूर्वको प्रमुख नाका काँकडभिट्टा ठप्प भएको छ। सीमा पूरै सुनसान बनेको छ भने या....

भद्रपुर, चैत ९ : भारतले ‘जनता कर्फ्यु’ लगाएका कारण पूर्वको प्रमुख नाका काँकडभिट्टा ठप्प भएको छ। सीमा पूरै सुनसान बनेको छ भने यात्रु नभएर छोटो दूरीका यातायातसमेत ठप्प भएका छन्। आइतबार बिहानदेखि भारत सरकारले आफ्नो देशमा जनता कफ्र्यु लगाउँदा हवाई, रेल तथा स्थल यातायात बन्द भएको कारण सीमामा आवतजावत ठप्प बनेको ट्राभल्स सङ्घ झापाका अध्यक्ष नेत्र कार्कीले बताए।
कोरोना भाइरस फैलिने सन्त्रास बढेको बेला भारतको कर्फ्युले नाका ठप्प हुँदा नेपाललाई फाइदा नै पुगेको उनको धारणा छ। उनका अनुसार भारतबाट यात्रु आउने क्रम रोकिएको छ। काँकडभिट्टा नाकामा नेपाली सुरक्षाकर्मीले पनि कडाइ गरेको उनले बताए। नेपाली सुरक्षाकर्मीले भारततिर अनावश्यकरुपमा जाने र नाकामा रमिता हेर्न आउनेलाई फर्काएको छ।
प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले नाकामा नेपालले बन्द नगरेको तर भारतमा लगाइएको ‘जनता कफ्र्यु’ले ओहोरदोहोर ठप्प बनेको जानकारी आएको बताए। नाका बन्द गर्ने विषय सङ्घीय सरकारको क्षेत्राधिकारभित्र भएको जनाउँदै हालसम्म केन्द्रबाट त्यस्तो बन्दको निर्देशन नआएको उनको भनाई छ।
नागरिक यातायात प्रालिका सञ्चालक राम थापाले यात्रु घटेकाले बस सेवा कटौती गरिएको जनाउँदै १५ वटामध्ये आज पाँच वटा मात्र छोटो दूरीमा चलाइएको जानकारी दिए।
काँकडभिट्टासँग सीमा जोडिएको भारतको पानीटङ्की नाकाका खटिएका पश्चिम बङ्गाल प्रहरीका सहायक निरीक्षक किशोर क्षेत्रीले सीमावर्ती बजार र गाउँ ‘जनता कफ्र्यु’का कारण पूरै बन्द रहेको बताए। बजार, यातायातलगायत सबै बन्द रहेको र सर्वसाधारण घरभित्रै बसेको हुँदा नाकामा ओहोरदोहोर ठप्प रहेको उनको भनाइ छ ।
छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिएका कारण सीमानाका नेपाल सरकारले अविलम्ब बन्द गरे सङ्क्रमण भित्रिने जोखिम कम हुने भन्दै सीमा क्षेत्रका बासिन्दाले माग गर्दै आएका छन्।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

